प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा दिक्षान्त कवाज निरीक्षण



काठमाडौँ, १४ पुष : प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७४ पौष १४ गते मोरङको याङशिलास्थित श्री कालीबक्स गण (ई) मा राष्ट्रिय सेवा दलद्वारा सञ्चालन भईरहेको सि.सं.४४ जुनियर डिभिजन, बार्षिक सामुहिक तालिम क्याम्प (दोस्रो चरण) का प्रशिक्षार्थीहरुको दीक्षान्त कवाजको निरीक्षण गर्नु भएको छ ।

सो अवसरमा प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले राष्ट्रिय सेवादलले संचालन गरेको NCC तालिममा छनौट भई १०० दिन अवधिको तालिम सफलता पूर्वक सम्पन्न गरी दिक्षित हुुनुभएका क्याडेट छात्र/छात्राहरुलाई हार्दिक बदाई दिदै तालिमको दौरान हासिल गरेका सामान्य सैनिक कला, विपद् व्यवस्थापन, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रियता, सामाजिक दायित्व तथा अनुशासन सम्बन्धी ज्ञानले अनुशासित, मर्यादित मुलुक प्रति समर्पित र राज्यका संस्थाहरु प्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुको साथै विपत्तिहरुको समयमा स्वंयमसेवकको रुपमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

निरीक्षण भ्रमणकै सिलसिलामा प्रधानसेनापति महारथी श्री क्षत्रीले आजै मिति २०७४ पौष १४ गते ईलामस्थित श्री पशुपतिप्रसाद गण र झापास्थित श्री कालीबहादुर गणको निरीक्षण भ्रमण गर्नु भई उक्त गणहरुको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो । साथै उहाँ आज श्री कालीबहादुर गणमा मुकाम रहनु हुने कार्यक्रम रहेको छ ।

निरीक्षण भ्रमण सम्पन्न गरी प्रधानसेनापति श्री क्षत्री मिति २०७४ पौष १५ गते काठमाण्डौं फिर्ता हुनु हुने कार्यक्रम रहेको र उहाँ निरीक्षण भ्रमणको सिलसिलामा मिति २०७४ पौष १३ गते श्री पूर्वी पृतना हे.क्वा. ईटहरीतर्फ प्रस्थान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्