‘लागुऔषध नियन्त्रणका लगि सञ्चारमाध्यमले भूमिका बढाउनुपर्ने’



काठमाडौँ, १४ पुस (रासस) : लागुऔषध ओसारपसार र प्रयोग रोक्न सञ्चारमाध्यमले आफ्नो भूमिका बढाउनुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखाले आयोजना गरेको ‘लागुऔषध नियन्त्रणसम्बन्धी पत्रकासँग अन्तरक्रिया’ कार्यक्रममा उनीहरुले पछिल्लो समय नेपालमा लागुऔषधको प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।

उनीहरुले लागुऔषध दुव्यसनीको संख्या बढ्नुले समाजमा विभिन्न खालका समस्या निम्ताउँदै गएकाले यसको समाधानका लागि नागरिक समाज, सञ्चारकर्मी र सुरक्षा निकाय गम्भीर हुनुपर्ने सुझाव दिए ।

सो अवसरमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले समाज खराब दिशामा जानु सबैका लागि घातक हुने भन्दै त्यसलाई रोक्न सञ्चारकर्मीले आफ्नो भूमिका बढाउन आवश्यक रहेको छ भन्नुभयो ।

मुलुक संघीय संरचनामा गएको अवस्थामा लागुऔषधको प्रयोग र आसारपसार रोक्न छुट्टै नीति बनाउन आवश्यक रहेको धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।

मन्त्रालयका सहसचिव केदार न्यौपानले नेपालमा वर्षेनी ११ प्रतिशतका दरले लागुऔषधका प्रयोगकर्ता बढिरहेको तथ्यांक प्रस्तुत गर्दै लागुऔषधसम्बन्धी नियन्त्रण ऐन २०३३  धेरै पुरानो भएकाले त्यसलाई परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।

लागुऔषधसम्बन्धी सही सूचनाको सम्प्रेषण, समस्याको समाधानका लागि पहल, नीति निर्माण र सरकारलाई पृष्ठपोषकको रुपमा सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने उहाँले जोड दिनुभयो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिलाई दुरुपयोग गरी लागुऔषधको रुपमा प्रयोग गर्ने परिपाटीको विकास हुँदै गएकाले यसलाई रोक्न सबै गम्भीर बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक ठूले राई सुरक्षा निकायबाट मात्रै लागुऔषधको समस्या समाधान गर्न नसकिने भएकाले यसमा समाजका सबै पक्षको सक्रिय सहयोग आवश्यक पर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले लागुऔषध नियन्त्रण गरेर सभ्य समाज निर्माण गर्नु सञ्चारकर्मीको पनि दायित्व भएकाले यसमा महासंघ सहयोगका लागि तयार रहेको विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्