चीन–दक्षिण एशिया एक्स्पो भृकुटीमण्डपमा : के के छन् एक्स्पोमा ?



परिवर्तन खबर, काठमाण्डौ २०७४-०७-१९

प्रथम चीन–दक्षिण एशिया एक्स्पो यही कार्तिक १६ देखि १९ सम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको छ । चीन, पाकिस्तान, बंगलादेश र नेपालका विभिन्न उत्पादनहरु प्रदर्शनी स्टलमा राखिएका छन् । चीनको युन्नान प्रान्तको कुनमिङस्थित चाइन–सार्क एक्स्पोको आयोजनामा कुनमिङमा वर्षेनी यस्तो एक्स्पो आयोजना गर्ने गरिएको भए पनि यस वर्ष पहिलो पटक काठमाडौँमा आयोजना गरिएको हो । चिनीयाँ संस्कृति र प्रविधिलाई दक्षिण एशियामा प्रचार–प्रसार गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको कुरा आयोजक संस्था चाइना–सार्क एक्स्पोकी सञ्चालिका फान शु थिङले बताइन् ।

चीनको युन्नान, जिलिङ, हेनान, तिब्बत र सांघाइका ४१ औद्योगिक तथा व्यापारिक कम्पनीहरुले एक्स्पोमा सहभागिता जनाएका छन् । त्यसैगरी पाकिस्तान र बंगलादेशका गार्मेन्ट, छालाका बस्तुहरु, फर्निचर तथा घरेलु उत्पादनहरु प्रदर्शनीमा राखिएका छन् । अन्य देशका उत्पादनहरु पनि प्रदर्शनीस्थलमा राखिएका भए पनि मुख्य आकर्षण भने चीनका स्टलहरु नै रहेका छन् । चीनकै सबैभन्दा पुरानो चिया उत्पादक कम्पनी युन्नान जियान टी फ्याक्ट्रीको चिया देखि अत्याधुनिक इलेक्ट्रोेनिक उत्पादनसमेत प्रदर्शनीमा रहेका छन् ।

चीनमा उत्पादिन धरायसी सामानदेखि सोलार प्रविधि, औषधि, इलेक्ट्रोनिक्स, मोवाइल, पानी प्रशोधन मेशीन, धान रोप्ने मेशीन, चिनीयाँ भाषा अध्ययनका लागि आवश्यक सामग्री, पोलोराज्ड ग्लास भएको चश्मा, रिमोट कन्ट्रोलबाट खोल्न र बन्द गर्न मिल्ने सेन्सरजडित इलेक्ट्रोनिक गेट, अत्याधुनिक प्याकेजिङ मेशीन, फार्निचर आदि प्रदर्शनीमा रहेका छन् ।

परम्परागत प्रविधिदेखि उच्चस्तरका रिमोट कन्ट्रोल गेटसम्मका सामग्रीहरु एकै ठाउँमा हेर्न र बुझ्न पाउनु नेपाली व्यापारिक क्षेत्रका लागि सहकार्यको सम्भावना पहिल्याउने यो राम्रो अवसर हो । यस एक्स्पोले चीनका धेरै शहर घुमेर हेर्नु बुझ्नुपर्ने विभिन्न प्रविधि र उत्पादन एकै ठाउँमा बसेर हेर्न र बुझ्न मिल्ने अवसर जुटाइदिएको कुरा प्रशर्दनीका सहयोगी प्रकाश लिम्बू बताउँछन् ।

प्रदर्शनीमा नेपाल–चीन लगानीलाई प्रोत्साहित गर्न र सहजीकरण गर्नका लागि युन्नानस्थित युन्नान इनर्जी इन्भेष्टमेन्टले छुट्टै स्टल राखेको छ । खासगरी नेपालको जलविधुत क्षेत्रमा कसरी लगानी बढाउन सकिन्छ र त्यसका लागि चिनीयाँ पक्षबाट के गर्न सकिन्छ त्यसको कानूनी आधार, सम्झौता, लगानी जुटाउन पहल आदिमा सहयोगी भूमिका निर्वाह गर्न सहयोग पुर्याउन हामी यस एक्स्पोमा आएका हौँ । नेपालीहरु इच्छुक भएमा हामी लगानीको सहकार्य अघि बढाउन चाहन्छौँ ।’ उक्त कम्पनीको नेपाल अफिसमा कार्यरत कर्मचारी राजीव महर्जनले बताउनुभयो ।

प्रदर्शनीमा चिनीयाँ कलाकारहरुबाट दिउँसो नृत्य र संगीत प्रस्तुत गरिने र चिनीयाँ सँस्कृतिसँग नेपालीहरुलाई परिचित गराउने कार्यक्रमसमेत रहेको कुरा आयोजकहरुले जनाएका छन् ।
यही कार्तिक १६ गतेबाट शुरु भएको एक्स्पो कार्तिक १९ गतेसम्म चल्नेछ । प्रदर्शनी बिहन ९ बजेदेखि बेलुका ५ बजेसम्म खुला रहने कुरा आयोजकहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्