होटलको नाफा यसरी बढ्दै छ



नवीन अर्याल २०७४-०८-०७

गत वर्ष नाफा बढाएका पाँचतारे होटलका लागि चालू आर्थिक वर्षको पहिलो तीन महिना सुखद रहेन। तीन महिनामा सोल्टी होटलको नाफामा तीव्र गिरावट आएको छ। र्‍याडिसन होटलको नाफामा सामान्य सुधारमात्र देखिएको छ। पब्लिकमा गइसकेका सोल्टी, र्‍याडिसन र हायात होटलले त्रैमासिक रूपमा वित्तीय प्रतिवेदन सार्वजनिक गर्छन्। समाचार तयार पार्दासम्म हायात होटलको वित्तीय प्रतिवेदन सार्वजनिक भएको छैन।

तीन महिना अवधिमा सोल्टी होटलले ३५ लाख रुपैयाँमात्र कमाएको छ। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा करिब ८९ प्रतिशत कम हो। गत वर्षको पहिलो तीन महिनामा सोल्टीले तीन करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो। होटलको हिमालयन विंग भवनका एक सय ७७ कोठाको स्तरोन्नति तथा भित्री साजसज्जाका लागि पूर्णरूपमा बन्द गरेपछि नाफा ओरालो लागेको हो। यो अवधिमा एक सय पाँच कोठामात्र सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ।

पहिलो त्रैमासिक अवधिमा र्‍याडिसनले दुई करोड ५५ लाख ५४ हजार नाफा कमाएको छ। यो नाफा ०.१४ प्रतिशतमात्र बढी हो। गत वर्षको सोही अवधिमा र्‍याडिसनको नाफा दुई करोड ५५ लाख १६ हजार थियो। होटलको कुल आम्दानीमा गिरावट आएपछि नाफा खुम्चिएको प्रतिवेदनमा उल्लेख छ। यो अवधिमा होटलको कुल आम्दानी २० करोड ३० लाख रुपैयाँ छ। जबकी गत वर्षको सोही अवधिमा २० करोड ४० लाख कुल आम्दानी भएको थियो। कुल आम्दानीमा ०.११ प्रतिशतले गिरावट आउँदा पनि खर्चमा भएको कटौतीले खुद नाफामा सामान्य सुधार आएको होटल व्यवस्थापनले जनाएको छ।

बौद्धस्थित हायात रिजेन्सी होटलले गत वर्षको पहिलो तीन महिनामा दुई करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो। यस्तै, अघिल्लो वर्ष २०७२/७३ को पहिलो तीन महिनामा होटलको नाफा एक करोड १० लाख थियो। निरन्तर उकालो लागेको हायातको नाफा यो वर्ष पनि बढ्ने सामान्य अनुमान लगाउन सकिन्छ। हायात होटलले वित्तीय प्रतिवेदन ढिलो सार्वजनिक गर्छ। हायात नेपालकै ठूलो होटलमा गनिन्छ। होटलको ७४ करोड ४९ लाख आठ सय ७५ कित्ता सेयर सूचीकृत छ।

सोल्टी होटलले तीन महिनामा २६ करोड ११ लाख कुल आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा सोल्टीको कुल आम्दानी २९ करोड ४२ लाख थियो। ठूलो संख्यामा होटलका कोठा बन्द गर्नु परेपछि आम्दानी घटेको हो। अप्रत्यासित रूपमा घट्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाले होटल प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। यस्तै, मुलुकमा पर्याप्त पर्यटकीय पूर्वाधारको कमी, विदेशी विनिमय दरमा हुने अप्रत्यासित परिवर्तन, बन्द हडतालजस्ता समस्या र अस्थिर राजनीतिले मुलुकको पर्यटन व्यवसाय प्रभावित भएको बताइएको छ।

र्‍याडिसन होटल व्यवस्थापनले बजारमा तीव्र प्रतिस्पर्धाकै कारण नाफा प्रभावित भएको बताएको छ। होटलका पाहुनाको आवश्यकता र चाहनालाई मध्यनजर गरेर स्तरीय सेवा सुविधा दिई नाफा बढाउन केन्द्रित हुने प्रतिवेदनमा उल्लेख छ। देशमा विद्यमान आर्थिक तथा राजनीतिक संक्रमण, अघोषित बन्द तथा हडताल, पर्यटक आगमनमा कमी, पर्यटन पूर्वाधार विकासमा सुस्तता, विदेशी मुद्राको विनिमय दरमा उतारचढाव समस्याका रूपमा रहेको व्यवस्थापनले औंल्याएको छ।

लामो समय सञ्चित नोक्सानीमा रहेको र्‍याडिसन पछिल्लो समय नाफामा छ। होटलको पहिलो त्रैमासमा सेयर पुँजीकोष अनुपात १.३९ प्रतिशत, प्रतिसेयर आम्दानी ३.२३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३२.१२ रुपैयाँ, प्रतिसेयर बजार मूल्य नौ सय ४४ रुपैयाँ छ। सोल्टी होटलको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी ०.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३.६८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६०६१.६३ गुना रहेको छ। सोल्टीको सूचीकृत सेयर संख्या चार करोड २१ लाख २२ हजार ६२ कित्ता छ।

होटलको आम्दानी होटल आव (२०७३/७४) आव (२०७२/७३)
र्‍याडिसन २२ करोड ६० लाख ११ करोड ७५ लाख
हायात २८ करोड ७ लाख १३ करोड ६७ लाख
सोल्टी १८ करोड २९ लाख ८ करोड ८ लाख

प्रतिक्रिया दिनुहोस्