कुसुम कार्कीको जितले गगनलाई चुनौती



ध्रुवप्रसाद घिमिरे, परिवर्तन खबर, काठमाडौँ  २०७४-०८-२६

वाम तालमेल र एमालेको लोकप्रियताले गर्दा देशभरिनै वाम उम्मेदवारहरु विजयी भए ।  निकै चर्चामा रहेको काठमाण्डौ (४) मा भने एमालेका बौद्धिक नेता मानिने डा. राजन भट्टराईले नेपाली काँग्रेसका गगन कुमार थापा सँग पराजयको सामना गर्नुपर्यो   ।

आखिर किन हारे त राजनले अनि कसरी जिते कुसुमले ? वास्तवमा प्रदेश सभाका निर्मल कुइँकेल साह्रै थोरै मतले हारे भने फराकिलो मतान्तरले कुसुमले जिते । राजन भट्टराई पार्टीको माथिल्लो ओहदामा रहेका नेता भए पनि स्थानीय क्षेत्रमा वास्तवमा घुलमिल नभइसकेका नेता थिए । सामाजिक रुपमा राम्रो सम्बन्धको कुशलता नभएका कारण पनि राजन यस क्षेत्रबाट हारेका हुन् भन्छन् जानकारहरु । तर कुसुम भने यहीँका दुःखसुखमा जनातसँगै रहेका र विगतमा महाँकालमा उपाध्यक्ष र अध्यक्ष हुँदा समेत इमानदार ढंगले काम गरेका हुनाले उनले विजय प्राप्त गर्न सकेको देखिन्छ ।

प्रतिनिधि सभामा फराकिलो मतान्तारले पछि परेको क्षेत्र नं. ४ को प्रदेश नं. २ मा भने एमालेका कुसुमकुमार कार्कीले २८९२ बढी मत ल्याएर एमालेको साख कायम गर्न सफल भए ।

प्रदेश नं. ४ (१) मा झिनो मतले हारेका कुइँकेलको हारलाई क्षतिपूर्ति हुने गरी कुसुमले जिते । हारको पीडाबोधमा रहेका एमाले समर्थकहरुले कुसुमको जितलाई क्षेत्र नं. ४ कै जितको रुपमा बुझेको देखिन्छ  ।  फराकिलो मतान्तरले प्रदेश नं. २ मा  विजयी भए सँगै अबका काँग्रेससँग प्रतिस्पर्धा गर्नसक्ने लोकप्रिय  नेताको रुपमा समेत उनलाई हेर्न थालिएको छ  ।

अनेरास्ववियुबाट क्याम्पस जीवन देखिनै राजनीतिमा क्रियाशील कुसुमकुमार कार्की २०४९ मा  तत्कालीन महाँकाल गा.वि.स.को उपाध्यक्ष र २०५४ मा अध्यक्षका रुपमा निर्वाचित जनप्रतिनिधि समेत हुन्  । आफ्नै व्यवसायले आत्मनिर्भर जीवन बिताईरहेका  कुसुमले राजनीतिलाई वास्तवमै  समाजसेवाको रुपमा लिएकै कारणले उनको लोकप्रियता यस क्षेत्रमा चुलिएको देखिन्छ  । एमाले कार्यकर्ता बीचमा लोकप्रिय कार्की, शालीनता, निष्पक्षता र पारदर्शी जीवन प्रति प्रतिबद्ध देखिन्छन्  ।

उनले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेखित प्रतिबद्धता पूरा गर्ने, जितपछि पनि आफ्नो क्रियाशीलता समान ढंगले अगाडि बढाउने र कार्यकर्ताको भावनालाई अहिलेजस्तै सम्मान गर्ने हो भने आउँदो चुनावमा उनको प्रतिनिधि सभाको यात्रालाई कसैले रोक्न नसक्ने विश्लेषण आम मानिसहरुको रहेको छ ।

राष्ट्रिय सभा गृह देखि बिजय जुलुसका तस्विरहरु :


फोटो : मेघराज पहाडी

प्रतिक्रिया दिनुहोस्