म साथीहरुकै मनशायअनुसार नै अध्यक्षको उम्मेदवार भएको हुँ



परिवर्तन खबर, काठमाडौँ , असोज २८ । ‘कुनै पनि काम सानो हुँदैन । सानो भनेर कामलाई हेलाँ नगरौँ । सानो काम ध्यान दिएर गर्नुभयो भने त्यसले आफुले गर्नसक्ने कामप्रति विश्वास बढ्दै जान्छ । विश्वास ठूलो शक्ति हो विकासका लागि ।’ आज परिवर्तन खबरसँग कुरा गर्दै गैर आवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार भवन भट्टले सो कुरा बताउनुभएको हो ।\

‘हामी अविकसित होइनौँ तर अव्यवस्थित भने हौँ । हामीसँग साधन–स्रोत सबै छन् तर हामीले त्यसलाई राम्ररी व्यवस्थापन गर्न सकेका छैनौँ । बिजुली छ तर बल्ब बल्दैन । यो सबै व्यवस्थापनका कमजोरी हुन् ।’ एक प्रश्नमा उहाँले भन्नुभयो ।

‘म करिब २१ वर्षको हुँदा जापान पुगेँ । भाँडा माझ्ने कामबाट काम शुरु गरेँ । तर मैले भाँडा यति राम्रोसँग माझेँ, त्यसैले मलाई प्रमोशन गराइदियो । मैले दुई दिनभन्दा बढी त्यो काम गर्नुपरेन । मैले काम गर्ने तरिका अलिकति फरक गर्दाको परिणाम थियो मेरो प्रमोशन । अहिले म त्यही कामबाट सिक्तै करिब अढाइ सय चेन रेष्टुराँहरु चलाइरहेको छु । ५०० भन्दा बढी जापानीहरु मेरो कम्पनीमा काम गर्छन् । यो सबै कामप्रतिको सम्मानले नै भएको हो ।’ भवन भट्ट खुला कुरा राख्छन् ।

‘हामीसँग स्रोतसाधन नभएर गरिब भएका होइनौँ । सिस्टम विकास नगरेकाले हामी गरिब भयोँ । हामी अविकसित भन्छौँ तर हामी अविकसित होइन अव्यवस्थित चाहिँ पक्कै हौँ । सिस्टम विकास गर्नसके हामी छिटै फड्को मार्न सक्छौँ । हामी परिवर्तनमा धेरै लाग्यौँ तर त्यो परिवर्तनलाई कसरी एउटा सिस्टममा लैजाने भनेर काम गर्न सकेनौँ । अब यसमा काम गर्न सके नेपाल छिटै सम्पन्न मुलुक बन्न सक्छ ।’ विकासको बाधा के हो भन्ने बारेमा भवनको ठम्याइ छ ।

आसन्न निर्वाचन र उम्मेदवारीबारे जिज्ञाशा राख्ता उनी भन्छन्– ‘मैले १५ वर्ष लगातार यस संघमा काम गर्ने अवसर पाएको छु । साथीहरुले विश्वास गर्नुभएको छ । अब अलिकति जिम्मेवारी फरक गरौँ भन्ने साथीहरुको मनशाय भएकाले मैले उम्मेदवारी दिएको हुँ । मलाई लाग्छ साथीहरुले विश्वास गर्नुहुनेछ ।’

प्रतिक्रिया दिनुहोस्