अब उपत्यकामै बन्जी जम्प



परिवर्तन खबर, काठमाडौँ। कीर्तिपुर नगरपालिकाले पर्यटनको प्रवद्र्धनका लागि स्थानीय बल्खु खोला नजिकै सहासिक खेल बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु गरेको छ । कीर्तिपुर र तीनथानाको सिमाना स्थलमा पर्ने त्यस क्षेत्रमा रहेको डाँडामा बन्जी जम्प संरचनाका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माण कार्य शुरु गरिएको नगर प्रमुख रमेश महर्जनले जानकारी दिए ।

कीर्तिपुर नगरपालिका–२ स्थित उक्त क्षेत्रमा गरिएको भौगोलिक सर्भेक्षणबाट बन्जी जम्पका लागि उपयुक्त देखिएपछि नगरपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकाबाट नजिक पर्ने त्यस क्षेत्रमा सो खेलको विकासका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि नगरपालिकाले चालु आवमा एक करोड विनियोजन गरेको छ ।

विस्तृत परियोजना प्रतिवेदनपछि उक्त पूर्वाधार सम्पन्न गर्न के कति खर्च लाग्ने र कसरी निर्माण पूरा गर्ने भन्ने विषयमा टुंगो लाग्ने छ । नेपाल साहसिक खेल बन्जी जम्पको प्रचर सम्भाव्यता रहेको देश हो ।
केही समय अघि अमेरिकी समाचार संस्था सिएनएनले जारी गरेको उत्कृष्ट १५ देशको सूचीमा नेपाललाई पनि समावेश गरिएको हो । बन्जी जम्पका लागि विश्वकै उत्कृष्ट गन्तव्यमा नेपालको ‘लास्ट रिसोर्ट’लाई पनि समावेश गरिएको छ ।

विश्वकै अग्लो बन्जी जम्पमध्ये एक रहेको लास्ट रिसोर्ट भोटे कोशी नदीको माथि रहेको छ । यसको उचाइँ १६० मिटर रहेको सिएनएनले उल्लेख गरेको छ । नेपालबाहेक स्वीटजरल्याण्ड, इटाली, अस्ट्रिया, अमेरिका, चीन, फिनल्याण्ड, न्यूजिल्याण्ड, जाम्बिया–जिम्बाव्वेका बन्जी जम्प गन्तव्यहरु पनि समावेश रहेका छन् ।

नेपाल माउन्टेनरिङ्ग, ट्रेकिङ्ग, र्याफ्टिङ्ग, प्याराग्लाइडिङ्ग, माउन्टेन वाइक, बन्जीजम्प लगायतका पर्यटन खेलकुदमा ठूलो सम्भावना रहेको देश हो । विश्वका आठ हजार मीटर भन्दा अग्ला विश्वका १४ शिखरमध्ये आठ वटा नेपालमा नै रहेकाले नेपालको माउन्टेनरिङ्ग क्षेत्र विश्वकै प्रतिस्पर्धाविहिन साहसिक पर्यटन खेलकुदभित्र पर्ने गरेको छ ।

त्यस्तै नेपालको ट्रेकिङ्ग क्षेत्र विश्वप्रसिद्ध हुनु, र्याटिङ्गका लागि कर्णाली र सुनकोशी नदी विश्वकै शीर्ष दश स्थानमा पर्नु, प्याराग्लाइडिङ्गका लागि विश्वकै पाँचौ उत्तम स्थानमा पोखरा पर्नु, व्यवसायिक रुपमा बन्जी जम्प सञ्चालन गर्ने नेपाल विश्वकै चौथौ राष्ट्र हुनु लगायतका कारणले नेपालमा सहासिक खेलकुद पर्यटनका लागि समेत प्रचुर सम्भावना रहेको हो ।

प्रतिक्रिया दिनुहोस्