५ वर्षमा सबै सवारी साधानमा इम्बोस्ड नम्बर



परिवर्तन खबर, काठमाडौँ

काठमाडौँ, ७ भाद्र : सरकारले  अबको ५ वर्षभित्र देशभरका सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्ने भएको छ । सो अवधिभित्र २५ लाख सवारी साधानमा नयाँ इम्बोस्ड नम्बर प्लेट जडान गरिने योजना सरकारले बनाएको हो । प्रदेशका आधारमा २ पाङग्रे, ३ पाङग्रे र ४ पाँग्रे सवारी साधनमा इम्बोस्ड नम्बर जडान  गर्न लागिएको भौतिक पूर्वाधारमन्त्री वीरबहादुर बलायरले बताए ।

‘सवारी साधनमा जोड्न लागेको इम्बोस्ड नम्बर अब अञ्चलको नभई प्रदेशको नाममा बन्ने छ,’ बलायरले भने ‘यसअघि अञ्चलको नामबाट गर्ने व्यवस्थालाई खारेज गर्दै प्रदेशको नामवाट नम्बर बनाउन लागिएको हो ।’ मुलुक संघीय संरचनमा गएको र अञ्चल खारेज भइ प्रदेश कार्यान्वयनमा आएपछि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।

यसका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले अञ्चलको अनुसुचि परिर्वतन गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने भएको छ । यसअघि १३ प्रकारका सवारी नम्बर प्लेट भएकोमा इम्बोस्ड लागु भएपछि घटाएर ५ वटामा झारिएको छ ।

व्यवस्थापिका संसदको विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री बलायरले ५ वर्षभित्र सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गरिसक्ने जानकारी दिए ।

उनका अनुसार इम्बोस्ड नम्बर जडान  गर्दा २ पांग्रेलाई २ हजार ५ सय, ३ पांग्रेलाई २ हजार ९ सय, ४ पांग्रेलाई ३ हजार २ सय र हेभी सवारीसधानलाई ३ हजार ६ सय रुपैयाँ मूल्य तोकिएको छ ।

ठेकेदारले प्रति इम्बोस्ड नम्बर न्यूनतम १६ देखि बढीमा १९ डलरसम्म पाउने छ । ५ वर्षमा सरकारले झण्डै ४ अर्ब अर्थात ३ करोड ३३ लाख ५० हजार रुपैयाँ लाग्ने मन्त्री बलायरले जानकारी दिए । उनकाअनुसार यसबाट  आउदो ५ वर्षमा २ अर्ब ८४ करोड रुपैयाँ राजश्व संकलन हुने उनले जानकारी दिए ।

पहिला अर्डर भएको इम्बोस्ड प्लेट सानो भएको र अन्य प्राविधिक कारणले नेपाली भाषमा इम्बोस्ड नम्बर लेख्न नमिल्ने र नेपालको झण्डा रहने उनले बताए ।

नेपाल अन्तराष्ट्रिय सडक सञ्जालमा जोडिएको र वान बेल्ट वान रोड (ओबीओआर) मा गइसकेकाले नेपालीको सट्टा अंग्रेजीमा नम्बर प्लेट हुने उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्