मैले बुझेका संजय थापा



परिवर्तन खबर, काठमाडौँ

करिव ४ वर्ष अघि फेसबुक मार्फत संजय थापासँग मेरो भेट भयो । म त्यतिबेला दाङका कमलरीहरुका लागि सहयोग अभियानमा थिएँ । फेसबुके कुरा गर्दै जाँदा उहाँ अमेरिका बस्नुहुन्छ भन्ने थाहा पाएँ । आम नेपालीलाई जस्तै मलाई पनि लाग्यो, अमेरिका बस्नेहरुको कमाइ राम्रो हुन्छ, आफूले कमाएको केही रकम उपकारका लागि सहयोग गरिदिए त नेपालीलाई त ठूलो सहयोग हुन्थ्यो ! कुराकानी भएको केही दिनपछि मैले दाङका कमलरी बालबालिकाको लागि तपाईले केही सहयोग गर्नुहुन्छ कि भनेर प्रस्ताव गरेँ । उहाँले तपाईं चिन्दै नचिनेको मान्छेलाई कसरी सहयोग गर्ने भन्ने आशय व्यक्त गर्नुभयो  । मैले भनेँ, ‘एक पटक सहयोग गरेर परीक्षण गर्नुस्, बाँकी पछि फेरि कुरा गरौँला ।’

मैले यति छोटो कुरा गरेको केही हप्ता मात्र भएको थियो, मेरै नाममा ७०० अमेरिकन डलर पठाईदिनुभयो । हामीले यतैबाट थपेर १७ सय अमेरिकन डलर बराबरको काम गर्यौ । सबै विवरण पठाएपछि हामी पछि पनि सहयोग गर्छौं, राम्रो काम गर्नुभयो-भन्नुभयो । जुन आज सम्म जारी छ ।

२०१५ मा म यु.एन. को कार्यक्रममा अमेरिका गएँ । व्यस्तताकै बीच पनि समय निकालेर भेटघाटका लागि समय दिनुभयो । उहाँसँगै धेरै ठाउँ घुम्ने अवसर मिल्यो । यस्तै धेरै भेटघाटहरु २०१६ पनि भए । करिव ५ महिनाको मेरो बसाईमा धेरै पटक भेटघाट गरियो । भेटका बेला अधिकांश समय समाज, राष्ट्र र विकासका बारेमा छलफल हुन्थियो ।

अहिले उहाँ गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा भाग लिँदै हुनुहुन्छ । मानिस अवसर लिन, व्यवसाय फैलाउन, बच्चाहरुको पढाइ अघि बढाउन विदेशिने गर्छ । कसैको खुसी हुनसक्छ भने कसैको बाध्यता । कोही विदेश बस्ने अवसर पाउँना साथ राष्ट्र, राष्ट्रियता र देशको राजनीतिप्रति वितृष्णा फैलाउने र नकारात्मक कुरा गर्न लागेको भेटिन्छ तर संजय थापा सधैँ राष्ट्र, राष्ट्रियता र देशको राजनीतिप्रति जहिल्यै सकारात्मक रहेको पाएँ । देशको राजनीति बिग्रँदा, राष्ट्रियता कमजोर हुँदा, विदेशीले हेप्दा सधैँ चिन्ता र चासो राख्ने गरेको पाएको छु । आर्थिक नाकाबन्दीको बेला भारतीय शासकको विरुद्धमा प्रदर्शन गर्न न्युओर्कमै अग्र मोर्चामा रहेर बिरोध गर्न होस् अमेरिकामा गैरकानूनी रुपमा बसिरहेका नेपालीहरुलाई भूकम्पको बेला नेपाल फर्कने सुविधा (TPS) दिलाउन उहाँको अग्रणी भूमिका रहेको थियो ।

अमेरिकामा बसोबास गर्ने नेपालीहरु राजनीतिक रुपमा विभाजित हुनुभन्दा गैरआवासीय नेपालीको हक र हितका कुरा गर्नु बढी उपयुक्त हुन्छ, राजनीतिक आस्थाका आधारमा भन्दा आम नेपालीका रुपमा एकताबद्ध हुनुपर्छ भन्नेमा संजय थापा सधैँ दृढ रहेको पाएको छु ।

मैले टाढाबाट बुझेका संजय यस्तै हुन् बाँकी बुझाइ आ–आफ्नो हुन्छ तर पनि म यति भन्न सक्छु, नेपाल तथा प्रवासमा रहेका नेपालीको सेवा र उत्थानको भावना भने उहाँमा प्रगाढ छ । यदि प्रवासी नेपालीहरुले त्यही खोज्नुभएको हो भने किन उहाँलाई नै नरोज्ने ?

प्रतिक्रिया दिनुहोस्