मेलम्चीको पानी अर्को दशैंमा



काठमाडौँ : उपत्याकावासीले मेलम्चीको पानी पाउन अर्को दसैं कुर्नुपर्ने भएको छ । यही दसैंबाट मेलम्चीको पानी पाउने आसमा रहेका दुई हजार दुई सय मिटर सुरुङ खन्नेदेखि सुन्दरीजलमा खानेपानी प्रशोधन, बाँध र पाँचतले कन्ट्रोल अपरेसन हाउस बनाउनेसम्मका काम वर्ष दिनभित्र नसकिँदा राजधानीवासीले मेलम्चीको पानी पिउन दसैंसम्म कुर्नुपर्ने अवस्था आएको हो ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ मा रहेको मुहान अम्बाथानबाट २७.५ किलोमिटर लामो सुरुङ बनाएर मेलम्चीको पानी राजधानीमा वितरण गर्न लागिएको हो । सन् २००१ मा काम सुरु गरिए पनि अझै सुरुङ खन्ने काम अझै १.९२४ किमि सुरुङ खन्न बाँकी छ । खन्नुपर्ने २७.५८४ किमिमध्ये २५.६५९ किमि मात्र खनिसकिएको छ ।

अहिले दैनिक १३ देखि १४ मिटर सुरुङ खन्ने काम जारी छ । ‘सुरुङ खन्ने रफ्तार घटेको छ । मेसिन पनि पुरानो भयो । बीचमा नरम चट्टान भेटियो । पानी पनि रसाउन थाल्यो । सुरुङ खन्ने काम जोखिमपूर्ण भयो । र काम तीव्र गतिमा अघि बढ्न सकेन,’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने ।

उनले सुरुङ खन्ने काममा भएको ढिलाइप्रति चासो व्यक्त गर्दै सञ्चारकर्मीसँग भने, ‘राष्ट्रिय गौरवको आयोजना हो, राजधानीवासी मेलम्चीको पानी पर्खेर बसेका छन् । पैसाको चिन्ता नगर्नोस्, काम चाँडो सक्नोस्।’ पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौंवासीलाई पुर्याउनुपर्छ भनेर मेलम्ची खानेपानीको अवधारणा सुरु गरेका थिए ।

मेलम्ची खानेपानी आयोजनाका प्रमुख रामचन्द्र देवकोटाले केही महिना अघिसम्म आठ स्थानबाट सुरुङ खन्ने काम भए पनि हाल २२ सय मिटर मात्र बाँकी रहेकाले अम्बाथानबाट तल, सिन्धुबाट माथि र ग्याल्थुमबाट तल र माथि गरी चार ठाउँबाट सुरुङ खन्ने काम भइरहेको जानकारी दिए ।

‘इटालियन कम्पनी सीएमसीलाई सुरुङ खनिसक्न पुससम्म लाग्ने देखिन्छ’, उनले अन्नपूर्णसँग भने, ‘मुहानमा बाँध बाँध्ने, हेडवक्र्स बनाउने र गिटी, बालुवा, माटो आदि थिग्रयाउने र सफा पानी सुरुङमा पठाउन पाँचतले कन्ट्रोल अपरेसन हाउस बनाउने काममा झन्डै एक वर्ष लाग्छ ।’

सुरुङबाट आएको करिब १७ करोड लिटर पानी सुन्दरीजलमा फिल्टर गर्न साढे आठ करोड लिटरका फिल्टर बनाउने काम भइरहेको छ । एउटा जाइकाले बनाइसकेको छ भने एसियाली विकास बैंकले बनाउने अर्कोको काम सुरु भएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायले खन्न बाँकी सुरुङ भित्र पनि करिब १ हजार २ सय मिटरमा कमजोर चट्टान भेटिएकाले काम ढिलो भएको जानकारी दिए ।

उनले डेढ दशकभन्दा लामो अवधिमा पछिल्लो दुई वर्षमा मात्र सुरुङ निर्माणमा यति धेरै प्रगति भएको भन्दै उनले थपे, ‘२०७४ को दसैंभित्र सक्ने गरी योजनामा काम भइरहेको थियो तर यो सम्भव भएन ।’ २३ अर्ब रुपैयाँ लागतमा निर्माणाधिन मेलम्ची आयोजनाको वित्तीय ९२ र भौतिक ९५ प्रतिशत प्रगति भएको तथ्यांक छ ।

सन् २००१ देखि काम थालेको चाइनिज कम्पनीले सन् २०१२ मा काम छाडेपछि अहिले इटालियन कम्पनी सिएमसीले करिब ८ अर्बको ठेक्कामा काम गरिरहेको छ । सिएमसीको काम सक्ने म्याद पुसमा सकिन्छ ।

स्थानीय उपेन्द्र तामाङले सिएमसीले मापदण्डअनुसार गुणस्तरको काम नगरेको, सम्झौताबमोजिम स्थानीय क्षेत्रका ३३ प्रतिशत बासिन्दालाई काम नदिएको, सबकन्ट्रयाक्टर, निर्माण व्यवसायी र कामदारको करिब ५० करोड नतिरेकोजस्ता गुनासो गरे । उपठेकेदार श्रीराम न्यौपानेले सीएमसीले १८ करोडको मेसिनलगायत सामग्रीको भाडा नतिरेको र मर्मत नगरेकोलगायत थुप्रै काममा मनपरी ढंगले काम गरेको जानकारी दिए ।

यही गतिमा काम भए बाँकी सुरुङ खन्न अझै एक सय ४८ दिन अर्थात् पुसको पहिलो सातासम्म लाग्छ । त्यसपछि सुरुङको चारैतर्फ ‘प्लास्टर’ गर्नुपर्छ । त्यसका लागि थप तीन महिना लाग्छ । र सुरुङको काम फागुनसम्ममा मात्रै सकिन्छ ।

पानीको मुहान सुरुङमार्गसम्म जडान गर्न १५ चैतसम्म लाग्नेछ । बाँकी काम सकेर पानी सुरुङमार्गमा प्रवेश गराउन चैत मसान्तसम्म लाग्छ भने पानी उपत्यकामा आउन ०७५ को वैशाख कुर्नुपर्नेछ ।

१२ वैशाख ०७२ मा गएको भूकम्पले मेलम्ची खानेपानीको सुरुङ खन्ने काम प्रभावित हुँदा करिब ३ महिना सुरुङ खन्ने सम्पूर्ण काम रोकिएको थियो ।  भूकम्पलगत्तै भारतले गरेको नाकाबन्दीका कारण सुरुङ खन्ने काम करिब ६ महिना ठप्प बन्न पुग्यो । नाकाबन्दीमा इन्धनको चरम अभाव भयो । सुरुङ खन्न प्रयोग हुने केमिकल तथा विस्फोटक पदार्थ नाकाबन्दीका कारण रोकिए कारण सुरुङ खन्ने काम अघि बढ्न नसकेको देवकोटाले बताए ।   भौगर्भिक समस्याका कारण पनि सुरुङ खन्ने काम ढिलाइ भएको छ । चट्टान भेटिएको ठाउँमा सुरुङ खन्न सजिलो भयो, तर पर्याप्त मात्रामा नरम चट्टान, कति ठाउँमा पानी रसाउने कारणले काममा ढिलाइ भएको आयोजनाले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्