अब केरुङ अन्तर्राष्ट्रिय नाका, व्यापार तथा पर्यटन प्रवद्र्धन गर्न सहज



परिवर्तन खबर, काठमाडौँ

रसुवागढी–केरुङ नाका अन्तराष्ट्रिय नाकाको रूपमा प्रयोग हुने भएको छ । दुई देशका अधिकारीहरूले बुधबारदेखि नेपाल र चीन  सीमामा रहेको यो नाकालाई अन्तराष्ट्रिय नाकाको रूपमा यो नाकालाई सञ्चालनमा ल्याउने घोषणा गरेका हुन्।

दुबै देशका अधिकारीहरूले यस नाकालाई विकसित गरेर अन्तराष्ट्रिय नाकाका रूपमा सञ्चालनमा ल्याउने घोषणा गरेको ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले बताए ।
उक्त नाका अन्तराष्ट्रिय रूपमा रूपान्तरण भएपछि नेपाली र चिनियाँ नागरिकका साथसाथै तेस्रो मुलुकका नागरिकसमेत आवतजावत गर्न सक्नेछन् । दुई देशबीच मुख्य नाकाका रूपमा प्रयोग हुँदै आएको तातोपानी २०७२ सालको भूकम्पपछि बन्द रहेको अवस्थामा रसुवागढीलाई अन्तर्राष्ट्रिय नाकाका रूपमा प्रयोग गर्ने सहमति भएको हो ।
चीनको स्वशासित क्षेत्रको तिब्बतसँग जोडिएको यो नाका तातोपानी बन्द भएपछि पहिलो विकल्पको रूपमा प्रयोग हुँदै आएको थियो । ल्हासामा दुवै देशका अधिकारीहरूले संयुक्त विशेष कार्यक्रम गरेर नाकालाई अन्तर्राष्ट्रिय बनाउने घोषणा गरिएको हो ।
महावाणिज्यदूत कार्कीका अनुसार नाका सञ्चालनका लागि चीनतर्फको सम्पूर्ण पूर्वाधार तयार भइसकेको छ । नेपालतर्फ पनि पूर्वाधार निर्माणको थप काम भइरहेको छ । अन्तर्राष्ट्रिय स्तरको बनाइएपछि दुई देशबीचको व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्ध अझ बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्