पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित



गएराति परेको अविरल वर्षाले दक्षिणी रसुवास्थित बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । उत्तरगया गाउँपालिका–५ स्थित माझगाउँ र बनुवा घुम्तीबीच पिपलबोट आसपास क्षेत्रमा सडक मार्ग भत्किएर सुरु भएको पहिरोले बेँसीतर्फका बस्तीलाई प्रभावित पार्नुको साथै अन्नबालीमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । मानवीयतर्फ कुनै क्षति नभएको जनाइएको छ ।

प्रहरी निरीक्षक झलक शर्मा पौडेलका अनुसार सडक खुलाउने प्रयासको साथै क्षतिको विवरण लिने काम बिहानैदेखि सुरु भएको छ । पहिरोका कारण बेत्रावती, पहिरेबेँसी, मैलुङ खण्डको नयाँ सडकमा समेत सवारी आवागमन पूर्ण रूपमा बन्द भएको बताइएको छ ।​

जनै पूर्णिमाको अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला भर्न जाने यात्रुलाई धुञ्चे पुर्याउन स्थानीयस्तरमा रहेका सवारीसाधन परिचालन गरिने प्रहरीले जनाएको छ । उत्तरी भेगमा रहेका पासाङल्हामु तथा टिमुरे यातायात समितिको बसले गोसाइँकुण्ड जाने यात्रुलाई यातायातको सुविधा दिने तर निजी सवारीसाधन भने प्रभावित हुने बताइएको छ ।

बनुवा घुम्ती सडकदेखि त्रिशूली नदीसम्म पुगेको पहिरोको दूरी करिब दुई किलोमिटर भएको र जमिन तथा अन्नबाली ठूलो मात्रामा नोक्सान भएको लहरेपौवा निवासी डा सरोज श्रेष्ठले जानकारी दिए ।

पहिरोका कारण नौबिसे क्षेत्रमा भूकम्पपछि बनाइएका निजी आवाससमेत प्रभावित भएको डा श्रेष्ठले बताउनुभयो । सडकको नालीमा बग्ने पानी व्यवस्थित हुन नसक्दा पहिरोका समस्या उत्पन्न भएको बुझिएको र क्षतिको यथार्थ विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्