समाजसेवा र राजनीतिमा सक्रिय देवी रेग्मीको प्रेरक जीवनी



काठमाडौं । देवी रेग्मी बूढानीलकण्ठ नगरपालिकाभित्र परिचित नाम हो। खासगरी कपन क्षेत्रलाई आधार मानेर दशकौँदेखि नेकपा एमालेका विभिन्न जनवर्गीय संगठन हुँदै विभिन्न सामाजिक संस्थामार्फत समाजसेवामा निरन्तर सक्रिय पहिचान पनि हो।

२०२८ असोज ७ गते स्व. आमा ईन्द्रमाया पन्त र स्व. बुवा चन्द्रकान्त पन्तका दर्जन बढी सन्तान मध्ये उनी ५ औँ सन्तानको रुपमा काभ्रेपलाल्चोक जिल्लाको साविक श्रमथली गाउँ विकास समिति वडा नम्बर- ७ कुडाल परिवर्तित तिमाल गाउँपालिका वडा नम्बर ३ मा जन्मिएकी हुन्। स्थानीय कालीदेवी प्राथमिक विद्यालयबाट कक्षा २ उतिर्ण गरेकी रेग्मीको परिवार २०३९ सालमा सर्लाहीको बागमतीमा बसाईसराई गर्नुपर्यो। त्यसैले उनको पढाई बीचमै छुटेर सर्लाहीको सुकेपोखरी विद्यालयमा कक्षा ४ मा भर्ना भईन। कक्षा ४ पढ्नै लाग्दा १२ वर्ष ६ महिनाको उमेरमा २०४२ फागुन २९ गते साविक काभ्रे कानपुरका राजनप्रसाद रेग्मीसँग हिन्दू परम्परा अनुसार मागी विवाह भएपछि उनको पढाई बीचमै छुट्यो।

कलिलो उमेरमा बच्चा जन्माएपछि पहिलो र दोश्रो बच्चा गुमाएकी रेग्मीको युवा-अवस्थामा २०४६ चैत्र २७ गते निर्मला रेग्मी र २०४९ असार ८ गरे प्रमिला रेग्मीको सकुशल जन्म भयो। छोरीहरु मात्र हुँदा समाजमा हेलित हुनुपर्ने तात्कालिन अवस्थामा समेत रेग्मी दम्पतिले आपसी समझदारीमा थप सन्तान जन्माउने कष्ट गरेनन्।

पारिवारिक रुपमा राजन सरलाई त अर्को श्रीमती विवाह गर्ने दबाब थियो तर उहाँले परिवारको दबाबलाई वेवास्ता गरी अर्को विवाह त होईन थप सन्तान जन्माउने ईच्छा समेत गर्नुभएन -रेग्मीले परिवर्तन खबरलाई बताईन्। रेग्मी दम्पतिका दुवै छोरीहरु सम्मानित पेशा गरेर अष्ट्रेलियामा बसोबास गर्छन भने कुनै छोराको भन्दा कम भूमिका समेत निर्वाह गरेका छैनन्। पेशाले शिक्षक रहेका उनका श्रीमान् राजन रेग्मी बूढानीलकण्ठ नगरपालिकाको एकमात्र नमूना विद्यालय बाल उद्धार माध्यमिक विद्यालयमा सहायक प्रधानाध्यापकको जिम्मेवारीमा रहेका छन्।

बाल्य अवस्थामै वैवाहिक जीवनमा बाँधिएकी रेग्मीको औपचारिक अध्ययनको हुटहुटी रोकिएको थिएन। रुओन नेपाल र सगरमाथा बोर्डिंग स्कूलले सरस्वती नगरमा संचालन गरेको महिला बैकल्पिक विद्यालयमा २५ महिना अध्ययन गरेपछि सोहि स्कूलबाट २०६८ सालमा कक्षा ८ उतिर्ण गर्न सफल भईन्। सगरमाथा बैकल्पिक महिला विद्यालयबाट कक्षा १० उतिर्ण गरेकी रेग्मीले कपन क्षेत्रकै जुगल स्कूलबाट कानुन विषयमा कक्षा १२ सम्मको औपचारिक अध्ययन पुरा गरेकी छन्।

सानै उमेरदेखि समाजसेवामा चासो राख्ने रेग्मीले छोरीहरु नियमित रुपमा विद्यालय जान थालेदेखि नै समाजसेवामा निकै सक्रिय भईन। बूढानीलकण्ठ वडा नम्बर १० को सार्वजनिक जग्गा संरक्षण समिति अध्यक्ष र अधिकारवादी संस्था महिला मैत्री समूहमा सचिवको जिम्मेवारी पुरा गरिसकेकी छन्।

हाल उनी बाल उद्धार माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य र कर्मशील महिला अभियान नेपालको अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेकी छन्। २०६४ सालदेखि नेकपा एमालेको संगठित सदस्यको रुपमा कम्युनिष्ट राजनीतिमा क्रियाशील देवी रेग्मी पार्टीको जनवर्गीय संगठन युवा संघ कपन गाउँ कमिटीदेखि प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेर आफ्नो जिम्मेवारी सफलतापूर्वक पुरा गरेकी छन्। नेकपा एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्बर ४ को २ कार्यकाल सदस्य रहेकी रेग्मी हाल पार्टीको जिल्ला कमिटी सदस्य, नेपाल भुमिहिन सुकुम्बासी संगठन प्रमुख र बूढानीलकण्ठ-१२ की ईञ्चार्ज समेत हुन्।

प्रतिक्रिया दिनुहोस्