कर्णालीको सत्ती पुलबाट दुई हप्ता आवागमन बन्द हुने



हुलाकी राजमार्गअन्तर्गतको कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा पर्ने सत्ती पुल दुई हप्ताका लागि बन्द गरिने भएको छ । पुलको पूर्वतर्फ छेउको स्पान मर्मत गर्नुपर्ने भएकाले केही दिन आवागमन नहुने भएको हो । जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सूचना जारी गर्दै पुलको मर्मत गर्दा आवागमन नहुने बताएको छ ।

मङ्गलबारदेखि मर्मत सुरु गरी यही असोज २० गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको हुनाले सो अवधिमा आवागमन कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा जानकारी दिए । यस वर्ष कर्णाली नदीमा पानीको बहाव धेरै हुँदा पूर्व तर्फका दुई स्पान जोड्ने भाग करिब छ इन्च जति छुट्टिएका थिए । पुलको स्पान फाटेको हुँदा यस वर्ष दुईपटक सर्वसाधारण तथा गाडी आवागमनमा बन्द गरिएको थियो । कर्णालीमा पुल निर्माण भएदेखि नै पूर्वतर्फको क्षेत्रमा पानीको बहाव बढी हुने भएकाले तटबन्ध वर्षेनी भत्कने गरेको थियो ।

तटबन्ध बगाउन सक्ने भन्दै विगतका वर्षदेखि नै पुलको पूर्वतर्फ दुईवटा पिलर थप्नका लागि पहल गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासी जीतबहादुर चौधरी बताउँछन् । यस वर्ष जेनतेन पुल जोगाउने काम भएको जनाउँदै आगामी हिउँदमा कर्णालीको बीच भागमा रहेको बालुवा र ग्राभेल रहेको भाग हटाएमा पानीको बहाव फैलिन गई पुलमा क्षति कम हुने स्थानीय सर्पराज साउदले बताए ।

यस वर्ष पारीपट्टिको भागमा ठूलो ढुङ्गा हाल्ने काम भएकाले पुलको संरक्षण भएको थियो । विसं २०७१ मा निर्माण भएको १३ स्पान रहेको उक्त पुलको लम्बाइ ५३१ मिटर छ ।

प्रतिक्रिया दिनुहोस्