चितवनमा खाली हुँदै आइसोलेशन



जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा स्थानीय तहहरूले स्थापना गरेका आइसोलेशन खाली हुँदै गएका छन् । यहाँका आइसोलेशन र अस्पतालमा सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । जिल्लामा सात स्थानीय तहहरूले कोरोना कहरको समयमा स्थानीयको उपचारका लागि भन्दै स्थानीय तहमै आइसोलेशन सञ्चालनमा ल्याएका थिए ।

सात स्थानीय तहमध्ये अहिले पाँच स्थानीय तहका आइसोलेशनमा बिरामीको सङ्ख्या शून्य छ । स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाले सञ्चालनमा ल्याएको आइसोलेशनमा सङ्क्रमितको सङ्ख्या शून्य छ ।

माडी नगरपालिकाको आइसोलेशनमा एक र कालिका नगरपालिकाको आइसोलेशनमा दुई सङ्क्रमितको उपचार भइरहेको उनले जानकारी दिए । जिल्लाका सात पालिकाका आइसोलेशनमा र अस्पतालमा गरी ७१७ बिरामी अट्ने शय्यामा अहिले ४८ सङ्क्रमित छन् । भरतपुर अस्पतालमा ११० शय्या कोभिडका लागि छुट्याइएकामा हाल ३६ जना सङ्क्रमितको उपचार भइरहेको छ । चितवन मेडिकल कलेजमा आठ कोभिडका बिरामीको उपचार भइरहेको छ । यस अस्पतालमा १३२ शय्या कोभिडका लागि छुट्याइएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत कोरोना सङ्क्रमितको सङ्ख्या शून्य छ । यस अस्पतालमा २१० शय्या कोभिडको उपचारका लागि छुट्याइएको उनले जानकारी दिए ।

यस्तै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १४० शय्यामा एक सङ्क्रमितको उपचार भइरहेको छ । स्थानीय तहअन्तर्गत भरतपुर महानगरपालिकाले शिवनगरमा सञ्चालन गरेको कोभिड अस्पतालमा ३० शय्या भए पनि हाल सङ्क्रमित छैनन् । माडी नगरपालिकाको १० शय्याको आइसोलेशनमा एक, रत्ननगर नगरपालिकाको आठ शय्या, राप्ती, खैरहनी नगरपालिकामा सङ्क्रमित शून्य रहेको उनले जानकारी दिए । यस्तै कालिका नगरपालिकामा १२ शय्याको आइसोलेशनमा दुई बिरामीको उपचार भइरहेको छ । इच्छाकामना गाउँपालिकाको २५ शय्याको अस्पतालमा शून्य सङ्क्रमित छन् ।

जिल्लामा हाल सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या ६८५ र छन् । जसमध्ये अस्पतालमा ३० सङ्क्रमित छन् । छ सय ५५ जना होम आइसोलेशनमा छन् । हालसम्म २५ हजार ३८१ कोरोना सङ्क्रमित भएका छन् । जसमध्ये २४ हजार २८९ सङ्क्रमण भुक्त भएका छन् । जिल्लामा कोरोनाका कारण ४०७ को मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्