६ महिनाभित्र १५ लाखलाई निःशुल्क खोप : मुख्यमन्त्री पोखरेल



गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको ६ महिनाभित्र १८ वर्ष माथिका १५ लाख प्रदेशवासीले कोरोना विरुद्धको खोप पाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्ला समन्वय समिति तनहुँले दमौलीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । हालसम्म आठ लाख मानिसलाई पहिलो र तीन लाखलाई दोस्रो चरणको खोप प्रदान गरिसकिएको उनले बताए ।

प्रदेशका एक दुई जिल्लामा बाहेक अक्सिजन प्लान्ट जडान र बेड क्षमता वृद्धि गर्न नसकिए पनि पहलकदमी भैरहेको उनले बताए । दोस्रोसँगै तेस्रो लहरको भेरियन्ट पनि देखिन थालेकाले यस किसिमको कोभिडसँग जुध्न प्रदेश सरकार तयारी अवस्थामा रहेको उल्लेख गर्दै उनले सबैलाई सचेत रहन आग्रह गरे ।

प्रदेश सरकारले बाढीपहिराबाट पूर्ण क्षति भएका परिवारलाई रु एक लाख राहत प्रदान गर्ने भएकाले जिल्लाबाट त्यस्ता क्षति भएका घरको जति सक्दो छिटो विवरण पठाउन मुख्यमन्त्री पोखरेलले निर्देशन दिए ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जिल्लामा भएका शान्ति सुरक्षा र विपद्बाट क्षतिको बारेमा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्