पोखरीमा डुबेर ७ वर्षीय बालकको मृत्यु



सप्तरीको महदेवा गाउँपालिका–४ बलियामा आज डुबेर एक बालकको मृत्यु भएको छ । मुत्यु हुनेमा मोहम्मद मुस्ताकका सात वर्षीय छोरा मोहम्मद इजाराइल रहेको स्थानीयवासी राहत अलीले बताए । सोही गाउँका लक्ष्मीनारायण मठको पोखरीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको स्थानीयवासीको भनाइ छ ।

राजविराज कारागारमा तीन गुणा कैदी

सप्तरीस्थित राजविराज कारागारमा क्षमता भन्दा तीन गुणा कैदीबन्दी रहेका छन् । एक सय २५ जना क्षमता भएको उक्त कारागारमा हाल १४ महिलासहित ३६८ कैदीबन्दी रहेको जेलर सुमन कोइरालाले बताए ।

राणाकालमै निर्माण गरिएको मुलुककै पुरानो मध्येको उक्त कारागार हो । कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी भरिएपछि कारागारलाई व्यवस्थापन गर्नसमेत कठिनाइ भइरहेको जनाइएको छ । कारागार भवन पुरानो र अति जीर्ण हुनाका साथै क्षमता भन्दा धेरै कैदीबन्दी राख्नु पर्दा व्यवस्थापनमा पनि समस्या भइरहेको जेलर कोइरालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्