असोजसम्म एक तिहाइ नेपालीलाई खोप



केही साता अघिसम्म कोरोनाविरुद्ध खोपको अभाव चर्को थियो । भारतमा कोरोनाको दोस्रो लहर उच्च भएपछि रकम बुझाई खरिद गरिएको खोप पनि आउन सकेन । खोप उत्पादक मुलुकले आफ्नै नागरिकलाई पहिलो प्राथमिकता दिएपछि नेपालजस्ता मुलुकका लागि खोपमा सहज पहुँच जटिल बन्यो तर अब भने खोप सहज बन्दै गएको छ ।

मित्रराष्ट्रबाट सहयोग, कोभ्याक्स सुविधा र खरिदमार्फत धमाधम खोप आउन थालेको छ । समग्रमा ६५ लाख मात्राभन्दा बढी खोप स्वदेश आइसकेको छ । थप खोपसमेत आउने प्रक्रियामा रहेकाले नेपालीलाई अब खोपको अभाव नहुने बरु प्रभावकारी व्यवस्थापनको आवश्यकता रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले हालसम्म नेपालमा ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको जानकारी दिए ।

अझै खोप आउने क्रममा रहेकाले नेपालमा खोपको अभाव नहुने जानकारी गराउँदै उनले भने, “जसरी नेपालमा खोप आइरहेको छ, त्यही अनुपातमा खोप आउँदा असोजसम्ममा एक तिहाइ जनसङ्ख्याले खोप पाइसक्छन् । खोप निरन्तर आउने प्रक्रियामा रहेकाले अभाव नहुने स्पष्ट गर्दै प्रवक्ता पौडेलले नेपालमा हालसम्म आएको खोप खरिद गरेर ल्याइएको, अनुदान सहयोगमा आएको र कोभ्याक्स सुविधाअन्तर्गत आएको जानकारी दिए ।

नेपालमा केही दिनभित्रै ६४ लाख मात्रा खोप आउने जानकारी दिँदै उहाँले चीनसँग खरिद गरिएको ३२ लाख तत्काल आउने क्रममा रहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेटेर चीनले थप १६ लाख मात्रा खोप अनुदानमा दिने जानकारी गराउनुभयो । यो खोप नेपालले खरिद गरेभन्दा बाहेकको हो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्