सप्तरीमा ५५ वटा घटनामा मानवाधिकार उल्लङ्घन



जिल्लामा छ महिनाका अवधिमा ५५ मानवाधिकार उल्लङ्घन र ज्यादतीका घटना भएका छन् । नेपाल मानवाधिकार वर्ष पुस्तक २०२२ को तयारीका लागि इन्सेकले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनमा सन् २०२१ जनवरीदेखि जुनसम्मका अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले आइतबार प्रस्तुत गरेको प्रतिवेदनअनुसार बालिका बलात्कारका १२ घटनामा पाँचदेखि १८ वर्षका १३ जना पीडित छन् । आरोपितमा १५ देखि ७१ वर्षका १३ जना छन् । आरोपितमध्ये बुवासहित चार जना पुर्पक्षका लागि थुनामा, छ जना फरार, एक बालक अभिभावकको जिम्मामा र एक धरौटीमा रिहा भएका छन् । एउटा उजुरी दर्ता भएको छैन् ।

डाक्नेश्वरी नगरपालिका–३ हटेलकी नौ वर्षीया शिवानीकुमारी यादवको बलात्कार गरी हत्या गरेको आरोपमा छिमेकी १९ वर्षीय रोहितकुमार यादव असार ६ गते पक्राउ परेका छन् । पीडितको हँसियाले घाँटी काटेर हत्या गरिएको अवस्थामा असार ४ गते शव फेला परेको थियो ।

पहिलो पटक मिर्गौला बेचबिखनको एक घटना पनि बाहिर आएको छ । वैशाख २७ गते पक्राउ आरोपित सुरुङ्गा नगरपालिका–१ नैनडाबरका ३५ वर्षीय रमेश विश्वकर्मा मानसिक र शारीरिक रुपमा बिरामी रहेकाले जेठ ४ गते जमानीमा छुटेका छन् । मुख्य आरोपितको पहिचान खुलेको छैन ।

महिला बलात्कारका ६ घटनामा दुई जना फरार, दुई जना धरौटीमा र दुई जना जमानीमा रिहा भएका छन् । यो छ महिनाको अवधिमा गैरराज्यबाट दुई पुरुषको कुटपिटमा हत्या घटना भयो । जसमा आठ जना पुरुष आरोपित रहे । आरोपितमध्ये एक घटनाका चार जना पुर्पक्षका लागि थुनामा छन् भने अर्को घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सो छ महिनामा बालयौन दुव्र्यवहारको तीन घटनामा एक जना बाल सुधार गृहमा छन्, एक जना असार ८ गते पक्राउ परेका छन् भने एउटा उजुरी दर्ता भएको छैन । १४ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा असार १५ गतेदेखि एक जना आरोपित पुर्पक्षका लागि थुनामा छन् । ६ महिनाको अवधिमा हुनै लागेको एक बालविवाह रोकिएको छ भने अर्को एक बालविवाहमा जेठ १६ गते पाँच आरोपितविरुद्ध अदालतबाट म्यादी पुर्जी जारी भएको छ ।

महिला बलात्कार प्रयासका ६ वटा घटनामा दुई जना धरौटीमा रिहा भएका छन् भने दुई जना पक्राउ परेका छैनन् र दुई जनाले उजुरी दिएनन् । एक महिलाको आत्महत्या दुरुत्साहनमा उनका पति असार ७ गते ६० हजार धरौटी राखी रिहा भएका छन् । बहुविवाहको चार घटनामा पाँच जना आरोपितविरुद्ध म्यादी पुर्जी जारी भएको छ भने तीन जना धरौटी राखी रिहा भएका छन् ।

एक महिलाको गर्भपतन गराएको आरोपमा जिल्ला अदालतले पाँच जनालाई जनही रु ३० हजार धरौटी लिइ पुर्पक्षका लागि रिहा गरेको छ । भौतिक संरचना, सम्पत्ति क्षतिअन्तर्गत चार घटनामा दुई आरोपित धरौटीमा र एक जमानीमा रिहा भएका छन् । आरोपित एक जनालाई म्यादी पुर्जी जारी भएको छ भने पाँच जना पक्राउ परेका छैनन् । गैर राज्यबाट यातनाका एक, विप्लव समूहका पक्राउको एक, कुटपिटरदुर्व्यवहारका चार, घरेलु हिंसाका पाँच घटना अभिलेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्