सिन्धुपाल्चोकको बाह्रबिसेमा भौगर्भिक अध्ययनलाई तीव्रता



बाह्रबिसे नगरपालिकाले बाढी र पहिरोको उच्च जोखिममा रहेको क्षेत्रमा भौगर्भिक अध्ययनलाई तीव्रता दिएको छ । नगरपालिकाले आइतबार वडा नं ७ को आरूचे, हुण्डुङ, ढकाल गाउँबाट भौगर्भिक अध्ययनको शुरुवात गरेको हो ।

जोखिमपूर्ण बस्तीको भौगर्भिक अध्ययनका लागि भू–गर्भविद्सहितको विज्ञ टोलीको नेतृत्व उपप्रमुख सुशीला पाख्रिनले गरिरहनुभएको छ । दोस्रो दिन एउटा टोलीले नागपुजे, भीरखर्क पहिरोका शुरूआत बिन्दु घुम्थाङ् टुँडिखेलको फेदी हुँदै घुम्थाङ् शेर्पा बस्तीको सिरानसम्मको अध्ययन पूरा गरेको उपाध्यक्ष पाख्रिनले जानकारी दिए ।

अर्को टोलीले भिरखर्क, भिर थाप्लोलगायतका बस्तीस्तरीय अध्ययन गरेको छ । जोखिमपूर्ण बस्तीमा उपप्रमुख पाख्रिनको नेतृत्वमा रहेको भू–गर्भविद्को टोलीले मिहिनसँग अध्ययन गरिरहेको छ । गाउँ पुगेको विज्ञ टोलीलाई इलाका प्रहरी, वडाका प्राविधिक, प्रतिबद्ध संस्थाका इञ्जिनीयर प्रतिनिधिले सहयोग गरिरहेका छन् । विज्ञ टोलीले नगरपालिकाको नौ वटै वडामा अध्ययन गर्ने छ । अध्ययन प्रतिवेदनको फाइनल रिपोर्ट आएपछि नगरपालिकाले विस्तृत योजना बनाएर काम बढाउने उपप्रमुख पाख्रिनले बताए ।

“हामीले भौगर्भिक अध्ययनलाई तीव्रता दिइरहेका छौँ, हाम्रो ठाउँ खासगरी बाढीपहिरोको उच्च जोखिममा छ, अध्ययन प्रतिवेदनका आधारमा आगामी दिनमा नगरवासीलाई सुरक्षित बसोबासको प्रबन्ध मिलाउन सहयोग पुग्नेछ”, उपप्रमुख पाख्रिनले भने ।

नगरपालिकाले यसअघि वडा नं– ५ खोराङ बस्तीका बाढीपहिराका कारण उच्च जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारिसकेको छ । खोराङका १६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको उपप्रमुख पाख्रिनले बताए ।

दक्षिण कोरियामा बस्ने नेपालीको सहयोग

मेलम्ची–ईन्द्रावती बाढी प्रभावितका लागि देश–विदेशबाट सहयोग जुटिरहेको छ । पीडाका बेला थोरै भए पनि राहत दिन सकिन्छ कि भन्ने प्रयत्न भइरहेको छ । यसैबीच दक्षिण कोरियामा बसोबास गर्ने नेपालीले रकम सङ्कलन गरी पठाएका छन् । हेलम्बु–४ कार्साङ तामाङले सहयोग सङ्कलन कार्यको संयोजन गरिरहेका छन् ।

उनी सात वर्षदेखि कोरियामा कार्यरत रहेका छन् । सिन्धुपाल्चोक ‘समाज’ नाम दिइएको सो संस्थाले कुमार लामिछाने, सोमबहादुर तामाङमार्फत प्रत्यक्ष प्रभावितसम्म पुग्ने गरी नगद सहयोग हस्तान्तरण गरेको छ । तेर्से मावि, तालामाराङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीलबहादुर शाहीले सहयोग रकम रु ४० हजार लिँदै सबैको सहयोगले नै विद्यालय बचाउन सकिने बताए ।

प्रधानाध्यापक कृष्ण ढुङ्गानाले तारजाली लगाएर विद्यालय बचाउन लागेको जानकारी दिँदै यस कार्य खर्चिलो भएको हुँदा सबैको सहयोग आवश्यक रहेको बताए । सरस्वती मावि, ग्यालथुमका प्रधानाध्यापक सीताराम ढकालले सहयोग रकम रु ४० हजार बुझ्दै नदीको कटानबाट विद्यालयलाई जोगाउन तुरुन्त लाग्नुपर्ने हुँदा सहयोगका लागि सबैमा आह्वान गरे ।

इस्टपोइन्ट एकेडेमी पूर्णतः क्षति भएको हुँदा ५५० विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता भएका बेला नगद सहयोगले अस्थायी भवन निर्माणमा सहयोग पुग्ने प्रिन्सिपल दामोदर भारतीले बताए । उनलाई पनि रु ४० हजार हस्तान्तरण गरिएको हो । हेलम्बु गाउँपालिकाका बाढीमा परी परिवारका सदस्य गुमाएका १५ परिवारलाई रु दश÷दश हजार सहयोग गरिएको छ ।

नेपालमा रहेर सहयोग संयोजन गरिरहेका कुमार लामिछाने र सोमबहादुर तामाङले सम्बन्धित विद्यालयमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन् । हस्तान्तरणका सिलसिलामा रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले जो जहाँ रहे पनि विपद्का बेला सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्