बिपी प्रतिष्ठानमा २० कोरोना सङ्क्रमितको जटिल शल्यक्रिया



कोभिड—१९ महामारीको दोस्रो लहर शुरु भएयता एक महिनाको अवधिमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २० कोरोना सङ्क्रमितको शल्यक्रिया भएको छ । ती शल्यक्रियाहरू जटिल किसिमका रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चूडामणि पोखरेलका अनुसार कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर शुरु भएयता गत वैशाख २७ गतेदेखि प्रतिष्ठानको कोभिड अस्पतालमा शल्यक्रिया शुरु गरिएको थियो । जेठ अन्तिमसम्म २० वटा शल्यक्रिया भएको छ ।

प्रतिष्ठानका न्यूरो सर्जन डा.आलोक दाहाल लगायतको टोलीले तीन वटा न्यूरो सम्बन्धी जटिल शल्यक्रिया गरेको छ । टोलीले अचेत अवस्थामा आएका, आँखा खोल्न नसकेका, टाउकोमा रगत जमेका र हातखुट्टा नचलेका बिरामीहरुको सफल शल्यक्रिया गरेको उनले जानकारी दिए । उनका अनुसार जनरल सर्जरीबाट प्रा।डा।राकेश गुप्ता, डा।सुरेशप्रसाद साह, डा।निर्मल साह, डा।रुपेश प्रसाद साह, डा।भवानी खनाल, डा।विजय श्रेष्ठलगायत चिकित्सक टोलीले सातवटा जटिल किसिमका शल्यक्रिया गरेका छन् । तीमध्ये चारवटा सानो आन्द्राको, दुईवटा एपेन्डिक्सको र एकवटा ठूलो आन्द्राको शल्यक्रिया भएको सहप्रवक्ता डा।पोखरेलले जानकारी दिए ।

यसैगरी प्रतिष्ठानका कार्डियो भास्कुलर सर्जन डा।लोकेश शेखर जैसवाल तथा जेनेरल सर्जन डा।सुरेशप्रसाद साहको टोलीले १२ इन्च लामो रडले करङको हाडलाई छेडेर फोक्सो र मुटुमा चोट पुर्याएका सङ्क्रमित बिरामीको पनि जटिल शल्यक्रिया गरेको थियो । त्यसैगरी प्रतिष्ठानको नाक, कान, घाँटी विभागका डा। शंकरप्रसाद साह र डा।ऋषिराज साहको टोलीले एक जना सङ्क्रमित बिरामीको घाँटीमा अड्किएको हड्डी सफलतापूर्वक निकालेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार गाइनो विभागका चिकित्सकहरुले सङ्क्रमित बिरामीहरुको आठवटा शल्यक्रियामार्फत डेलिभरी गरिएको थियो भने ९ वटा नर्मल डेलिभरी गरिएको थियो । तीमध्ये पाँच वटा डा। दिप्ती दास, दुई वटा डा।मदन खड्का र एक वटा डा।मनोज साहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्