विद्युतको राष्ट्रिय प्रसारण लाईन कालिकोट पुर्याउने महेन्द्र शाहीको सपना पुरा, कुलमान घिसिङ्ग समेत खुशी



कालिकोट । कालिकोटमा विद्युतको राष्ट्रिय प्रसारण लाईन पुर्याउने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सपना झण्डै ४ बर्षपछि पुरा भएको छ ।

नेपाल विद्युत प्राधिकरणले दुल्लुदेखि कालिकोट मान्मसम्मको ३३ केभी राष्ट्रिय प्रसारण लाइनको बिस्तार गरेसंगै शाहीको सपना पुरा भएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही २०७४ साल साउन १२ गते उर्जामन्त्री बन्दा कालिकोटमा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुर्याउने योजना सार्बजनिक गरेका थिए । त्यो योजना सोमबार पुरा भएको हो ।

तत्कालिन उर्जामन्त्री हुँदा शाहीले अगाडी बढाएको योजना कार्यान्वयनका लागि २०७४ मंसीरमा टेन्डर आह्वान गरिएको थियो ।

कालिकोटमा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको खबर पाएपछि नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी प्रमुख कुलमान घिसिङ्गले समेत खुशी व्यक्त गरे ।

उनले भने,“कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीज्यू ऊर्जामन्त्री बनेपछि उहाँले आफ्नो निर्बाचन क्षेत्र कालिकोट लगायत साबिकको कर्णालीमा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुर्याउने योजना सार्बजनिक गर्नुभएको थियो,म त्यतिबेला नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख थिएँ,विद्युत प्राधिकरण अन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालयको उपकार्यकारी निर्देशक सुनिल ढुंगेल हुनुहुन्थ्यो ।

ढुंगेलजीले २०७४ को मंसीरमा टेन्डर सम्बन्धि सुचना प्रकाशित गर्नुभयो । ढिलै भएपनि त्यो योजना अहिले कार्यन्वयन भयो, यो खुशिको कुरा हो ।”

त्यस्तै नेपाल विद्युत प्राधिकरणका निर्देशक मोतिलाल महताराले तत्कालीन ऊर्जामन्त्री महेन्द्र बहादुर शाहीले अगाडी सारेको योजना कार्यान्वयन भएकोमा खुशि व्यक्त गर्दै कालिकोटबासीलाई उज्यालो दिन सफल योजनाकार शाही लगायत सबै सरोकारवालालाई बधाई तथा धन्यवाद व्यक्त गरे ।

आफूले ऊर्जामन्त्री हुँदा अघि सारेको योजना कार्यान्वयन भएकोमा खुशी व्यक्त गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको पहिलो प्राथमिकता सडक र विद्युत भएको वताए ।

उनले भने, “मैले झण्डै ४ बर्षअघि उर्जामन्त्रीको पदभार ग्रहण गर्दै कालिकोट लगायत साबिकको कर्णालीका सबै जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन जोड्ने योजना सार्बजनिक गरेको थिए, अहिले त्यो कार्यान्वयन भयो, छिटोछरितो कार्यन्वयनको लागि निर्देशन नदिएको होइन, तर ढिलै भएपनि त्यो योजना अहिले पुरा भएको छ, कालिकोटले अब उल्यालो पाएको छ, खुसि लागेको छ अबको केहि समयमा नै साविकको कर्णालीका ५ वटै जिल्लामा विद्युतको राष्टिय प्रसारण लाइन पुर्याउनुपर्छ ।’

नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले हाल ११ केभि प्रसारण लाईन कालिकोट पुगेको जानकारी दिदै तत्काल दैलेखमा नयाँ ट्रान्सफर्मर थपेर ३३ केभि प्रसारण लाईन जोडिने वताए ।

उनका अनुसार अब असारसम्म जुम्लामा समेत विद्युतको राष्ट्रिय प्रसारण लाईन जोडिने छ ।

विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रका प्रमुख मेखराज जोशीले अहिले सदरमुकाममा मात्रै बत्ति जोडिए पनि केही समयभित्र रास्कोट नरपालिका, नरहरीनाथ गाउँपालिका र खाडाचक्र नगरपालिकाका स्थानीयले समेत विद्युत बाल्न पाउने जनाए ।

मुख्यमन्त्री शाहीले कर्णाली क्षेत्रमा उत्पादन हुने विद्युतलाई अब राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि कालिकोटको रेगिलघाटमा ४ सय केभी प्रसारण लाइनको डीपीआर निर्माण गरिने समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्