डोटी घटनाका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने



डोटी जिल्लाको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएका आमा–छोरीको उपचार सरकारले बेहोर्ने भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी घाइते लक्ष्मी भाट र अन्जु भाटको उपचारमा लाग्नै सबै खर्च सरकारले बेहोर्ने जनाएको हो । डोटी जिल्ला आदर्श गाउँपालिका ४ रोडी बस्ने सन्तोष भाटले श्रीमती लक्ष्मी र छोरी अञ्जुलाई सुतिरहेको अबस्थामा ज्यान मार्ने मनसायले आगो लगाएका थिए । उक्त घटनामा आमा–छोरी नै घाइते भएका छन् ।

सन्तोषले सुतेको कोठा बाहिरबाट प्रज्वलनशिल तरल पदार्थ कोठाभित्र खन्याई आगो लगाएका मन्त्रालयले जनाएको छ । सो घटना यही जेठ १२ गते भएको जनाइएको छ । घाइते दुबैलाई तत्काल जिल्लास्थित सुजङ अस्पताल पुर्याई उपचार गरिएकोमा उनीहरुलाई थप उपचारका लागि आज नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँस्थित कीर्तिपुरस्थित अस्पतालमा ल्याइएको छ ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्धारा जारी विज्ञप्तिमा यस्ता घटनामा संलग्न व्यक्तिलाई कानुन बमोजिम कडा कारवाही हुने जनाइएको छ । मन्त्रालयले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । यस्ता घटना दोहोरिन नदिन मन्त्रालय कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्