गाउँमाथिको ठूलो ढुङ्गा खस्ने त्रासमा २० घरधुरी



हुम्लाको खार्पुनाथ गाउँपालिका–३ को कारङ्गा गाउँका २० घरधुरी ढुङ्गा खस्ने त्रासको उच्च जोखिममा रहेका छन् ।

गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा रहेको र त्यो खस्ने थालेपछि ती घरधुरी उच्च जोखिममा परेका हुन् ।

कारङ्गा गाउँका बस्तीमा ढुङ्गा खस्न थालेपछि पहिरोको उच्च जोखिममा परेको स्थानीयवासी हिर सिंहले बताए ।

बस्तीमाथिको जमीन भासिँदै गएपछि कारङ्गा गाउँ पहिरोको उच्च जोखिममा रहेको हो । बस्तीभन्दा करिब १०० मिटरमाथि जमिन भासिएको छ । गाउँपालिकाले कुनै वास्ता नगरेको तथा प्रहरी एक पटक आएर माथिपट्टि रहेको ढुङ्गाको अनुगमन गरेको तर त्यसपछि सम्बन्धित निकायले कुनै प्रक्रिया अगाडि नबढाएको सिंहले बताए ।

आजभोलि लगातार वर्षा भइरहेकाले अचानक ढुङ्गा खसेर जिउधनको क्षति भएपछि गाउँपालिकाले पहल गर्नुभन्दा समयमै यसको समाधान गर्नुपर्ने सिंहले बताए । “कारङ्गा गाउँको बस्तीमाथि जताततै भिरालो र भिर भएकाले जमीन भासिएको छ र ढुङ्गा खस्ने भएको छ”, वडाध्यक्ष गुमान बुढाले भने ।

प्रतिक्रिया दिनुहोस्