सांसद बस्नेद्वारा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण



कोभिड–१९ को महामारीमा कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स अभाव भएको गुनासो आइरहेको समयमा सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्त रुपमा सञ्चालन गर्ने गरी कोभिड एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कोरोनाको बिरामीले एम्बुलेन्स नपाइरहेको गुनासो आइरहेको बेलामा पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा ल्याएको एम्बुलेन्स उनले आज हस्तान्तरण गरेका हुन् ।

सांसद बस्नेतको पहलमा भारत सरकारले सहयोगस्वरूप प्रदान गरेको उक्त कोभिड एम्बुलेन्स सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्तरूपमा सञ्चालन गर्ने गरी हस्तान्तरण गरेका हुन् । हस्तान्तरण लगत्तै सांसद बस्नेत र नगरपालिकाका प्रमुख वासुदेव थापाले संयुक्तरूपमा एम्बुलेन्स उद्घाटन गर्दै आजदेखि सञ्चालनमा आएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का केन्द्रीय सदस्य एवं सांसद बस्नेतले अहिले महामारीको यो समयमा जनताको सुरक्षा र बिरामीलाई सहज एम्बुलेन्स सेवा पुग्ने विश्वास व्यक्त गरे । कोरोनाका बिरामीका लागि सूर्यविनायक नगर अस्पताल तत्काल सञ्चालनमा ल्याउन लागेको बताउँदै सांसद बस्नेतले उपचार तथा सुविधा अभावका कारणले यहाँका जनताले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

कार्यक्रममा नगरप्रमुख थापाले नगरका जनताको जीवन रक्षाका लागि आफू अहोरात्र खटिरहेको बताउँदै नगरभित्रका जनतालाई कोरोनाका कारण उपचारमा कुनै समस्या आउन नदिने दाबी गरे । उनले सांसद बस्नेत र आफ्नो पहलमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा आउन लागेको बताउँदै कोरोना सङ्क्रमितको उपचारलाई उच्च प्राथमिकतामा राखेर सेवा दिने बताए । भक्तपुरका जनताले चौबीसै घण्टा एम्बुलेन्स सेवाका लागि ९८०८५२९३८३ मा सम्पर्क गर्नसमेत उनले आग्रह गरे ।

त्यस्तै, योयो युनिटी भक्तपुर, नेपाल रेड्क्रस सोसाइटी भक्तपुर र ब्लोडान, भक्तपुरको संयुक्त सहकार्यमा भक्तपुरका बासिन्दाका लागि निःशुल्क कोभिड एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोरोना लगायतका अन्य बिरामीलाई अस्पताल पुर्याउने सेवाका लागि चौबीसै घण्टा सञ्चालन गर्ने गरी निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेको योयो युनिटीले जानकारी दिएको छ । एम्बुलेन्स चाहिएमा ९८६१८५४९८२ मा सम्पर्क गर्न सक्नेछ ।

कोरोना सङ्क्रमित बिरामीका लागि सेवा दिन भक्तपुर चेम्बर अफ कमर्स र भक्तपुर लायन्स समन्वय समितिले अक्सिजनसहितका एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमणका बेलामा पनि सङ्क्रमितले सहज रुपमा एम्बुलेन्स नपाएको गुनासो आएकाले चौबीसै घण्टा सेवा दिने गरी निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स चाहिएमा ९८६१७५६४६१ मा सम्पर्क गर्न समितिले आग्रह गरेको छ ।

यता नेपाल नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाले महामारीको समयमा गत वर्षदेखि यस वर्षसम्म नियमित एम्बुलेन्स चलाएर बिरामीको सेवा गरेको भन्दै एम्बुलेन्स चालकलाई नगद पुरस्कार प्रदान गरिएको छ । उपशाखाले सञ्चालन गरेको एम्बुलेन्सका चालक रुपचन्द्र हुमागाईंलाई नगद रु पाँच हजार पुरस्कारसहित सम्मान गरिएको उपशाखाका सभापति कल्पदीप खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्