कोरोनाबाट मृत्यु भएकाहरुको दाहसंस्कार आफन्तबाट हुन थालेपछि समुदाय त्रसित



सरकारी तबरबाट शव व्यवस्थापनमा ढिलाइ भएपछि कोरोना सङ्क्रमितको दाहसंस्कार आफन्तबाट हुँदा समुदायमा सङ्क्रमण फैलिने भयले स्थानीयवासी त्रसित देखिएका छन् । कोरोना भाइरसको लक्षण देखिएपछि गत वैशाख ३१ गते रोल्पा अस्पताल भर्ना भएका रोल्पा नगरपालिका २ सदरमुकाम लिवाङका एक व्यक्तिको अक्सिजनको मात्रा नबढेपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटैमा मृत्यु भयो ।

शव अस्पताल पुर्याएका आफन्तहरु लामो समय कुर्दा समेत सरकारी तबरबाट शव व्यवस्थापन गर्नेबारे चासो नदेखाउँदा आफन्तहरुले नै शव व्यवस्थापनका गर्न बाध्य भएको बताएका छन् । यस्तै कोरोना भाइरसका कारण केही दिनअघि मृत्यु भएका सुनिल स्मृति गाउँपालिका–४ का एक पुरुषको आफन्तले नै अन्त्येष्टी गरेका थिए ।

कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या रोल्पामा बढिरहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबारसम्म जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । यसरी मृत्यु भएकाहरुमध्ये अधिकांशको अन्त्येष्टी परिवारले गरेका छन् । नातेदार वा छिमेकीको मृत्युपछि दाहसंस्कारका लागि मलामी जानुपर्ने सामाजिक दायित्वका कारण दाहसंस्कारमा समेत जमघट हुने क्रम बढ्दै जान थालेसँगै कोरोनाले महामारी लिने कुराले जनमानसमा भय सिर्जना गरेको छ ।

“कोरोना सङ्क्रमितको परिवारबाट गरिने अन्त्येष्टी कारोना सङ्क्रमण भयावह हुने देखिन्छ,” छिमेकीको मृत्युसँगै अन्त्येष्टी उपस्थित भएर फर्किएका रोल्पा नगरपालिका ४ का विनोद आचार्यले भने । मृतकको शव परिवारका सदस्यहरुले समेत छुने गर्दा परिवारका सदस्यमा पनि सङ्क्रमणको उच्च जोखिम रहेको उनको भनाइ छ । आफन्तको मृत्युभएपछि एक घण्टा पर्खँदा समेत सेनाको टोली नआएपछि आफूहरुले नै शवको अन्त्येष्टी गरेको रोल्पा नगरपालिका ४ का धनराज डाँगीले बताए ।

कोरोनाबाट अस्पतालमा मृत्यु भएकाहरुलाई प्लाष्टिकले राम्रोसँग मोडेर सङ्क्रमण बाहिर नजाने गरी शवको अन्त्येष्टी गरिनुपर्ने रोल्पा हुन्छ । आफन्त र अस्पतालको समन्वय बिना शवको अन्त्येष्टी गर्ने भन्ने कुरा नै हुँदैन प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । “कोभिडका कारण मृत्यु भएको सुनिश्चित नभएसम्म सेना जाँदैन”, प्रजिअ सापकोटाले भने । कोरोनाको पहिलो लहरको बेला सबै शव सेनाले नै अन्त्येष्टी गर्ने नियम भएपनि दोस्रो लहरमा मृतकका आफन्तले अन्त्येष्टी गर्न चाहे उनीहरुलाई दिने नियम रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्