क्षमताभन्दा तेब्बर कैदीबन्दीले सङ्क्रमणको जोखिम



नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएका बेला जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ ।

जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७१ कैदीबन्दी छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोरोना सङ्क्रमणको जोखिम बढेको कारागारका अनिल तिवारीले जानकारी दिए ।

कैदीबन्दी बढी हुँदा कोरोना सङ्क्रमणका साथै बसोबास र सुरक्षाको दृष्टिकोणले पनि चुनौती छ । उनले भने, “बस्ने ठाउँको अभावमा त्रिपाल राखेर कैदीबन्दीलाई राखिएको छ । ”

कारागारमा अहिले ३८ कैदी र ३३ थुनुवा छन् । भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा त्रिपाल राखेर कैदी बन्दीहरुको बसोबासको व्यवस्था मिलाइएको छ । उनले भने,“ सङ्क्रमणको जोखिम बढ्दै गएको छ तर हालसम्म एकजनामा पनि सङ्क्रमण देखिएको छैन् ।”

कैदी तथा थुनुवालाई भेटघाट गर्न दिँदा सङ्क्रमणको जोखिम हुने भएकोले भेटघाट बन्द गरिएको छ । २०४० सालमा निर्माण गरिएको कारागार भवन पुनःनिर्माण नहुँदा जीर्ण बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्