भेन्टिलेटरको चरम अभाव : पुर्‍याइयो एकैदिन दुई सङ्क्रमितलाई बिएण्डसी



काठमाडौं । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज एकैदिन देशका विभिन्न स्थानबाट कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारार्थ पुर्‍याइएको छ । भेन्टिलेटरसहित आइसियुको चरम अभाव भएपछि दाङ र पर्साका सङ्क्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा लगिएको हो । काठमाडौँको एक नीजि अस्पतालमा उपचाररत सङ्क्रमितलाई पनि बिएण्डसी लैजाने तयारी भइरहेको बताइएको छ ।

उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष स्वास्थ्यकर्मी तथा अन्तरराष्ट्रिय गुणस्तरको मापदण्ड अनुसारका प्रयोगशाला भएकाले सो अस्पताल अब्बल दाबी गरिएको छ । अस्पतालमा कोरोनाका जटिल बिरामीलाई थप उपचार गर्न अत्याधुनिक भेन्टिलेटरसहित आइसियू श्यया अलग्गै छ । बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटरसहित आइसियू श्यया छ । तीमध्ये २५ भेन्टिलेटरसहित आइसियू श्यया कोभिडका बिरामीलाई छुट्याएको र बिरामीको आवश्यकताअनुसार थप गर्दै जाने बताइएको छ ।

अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिश गिरीले दिनुभएको जानकारीअनुसार दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत नौ दिनदेखि उपचाररत ४५ वर्षीय पेमा योगी र वीरगञ्जस्थित अली अस्पतालमा उपचाररत २९ वर्षीय हरि पौड्याललाई ‘हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा लगिएको हो । ती बिरामीका आफन्तले ती अस्पतालमा भेन्टिलेटरको अभाव भएपछि ‘हवाई बेड लिफ्ट’ गरेका बताएका छन् ।

सोही अस्पतालमा यही वैशाख १५ र २० गते काठमाडौँस्थित ह्याम्स र मनमोहन अस्पतालमा उपचारार्थ दुई सङ्क्रमितलाई थप उपचारार्थ ‘हवाई बेड सिफ्ट’ गरिएको थियो । ती बिरामीका आफन्तले भेन्टिलेटर सहितको आइसियू श्यया नपाएपछि बिएण्डसी लगेका थिए । अहिले ती बिरामीको स्वास्थ्यावस्था सन्तोषजनक रहेको चिकित्सकले जनाएका छन् ।

जनसम्पर्क अधिकृत गिरीले भने, “भेन्टिलेटर सहित आइसियूका लागि देशभरबाट बिएण्डसीमा सम्पर्क गर्ने क्रम बढ्दो छ । हामी गुणस्तरीय सेवा दिन प्रतिवद्ध छौँ ।” उनका अनुसार अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग अलग भेन्टिलेटर सहित आइसियू श्ययाको ब्लग सञ्चालनमा ल्याएको छ । विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजु श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करण पोखरेल लगायतले सेवा प्रदान गरिरहेका छन् ।

श्रोत र साधन राज्यलाई प्रदान गर्न तयार छु : कार्यकारी निर्देश प्रसाईं

प्रस्तावित बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले कोरोना सङ्क्रमितका उपचारमा बिएण्डसी अस्पतालले उच्च प्राथमिकताका साथ सेवा प्रदान गरिरहेको जानकारी दिए । उनले राज्यलाई आवश्यक परेमा कोरोनाका बिरामीलाई अस्पतालमा भएका सबै श्यया र भेन्टिलेटर सहितका आइसियू श्यया उपचार सेवामा लगाउन आफू तयार रहेको बताए ।

उनले भने, “विपद्का समयमा राज्यले के दियो र के गर्यो भन्दा पनि राज्यलाई के सहयोग गर्न सकिन्छ मुख्य कुरा हो , यस्तो अवस्थामा म टुलुटुलु हेरेर बस्न सक्दिन , आफूसँग भएका श्रोत र साधन प्रदान गर्न तयार छु ।” पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल गरी कूल ९०० श्यया छ । अस्पतालमा दैनिक एक हजार ३०० भन्दाबढी बिरामीले अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ३० देखि ४० शल्यक्रिया, ६०÷७० सङ्ख्यामा सिटीस्क्यान तथा ४० भन्दाबढी एमआरआई हुने गर्दछ ।

पूर्व क्षेत्रबाट उपचारका लागि भारत तथा काठमाडौँ जानुपर्ने अवस्था लगभग अन्त्य भई ती दुवै अस्पताल ‘रिफरल हस्पिटल’ बनेको छ । अस्पतालले पछिल्लो समय मुटु तथा मिर्गौला प्रत्यारोपणको तयारी गर्दैछ । कार्यकारी निर्देशक प्रसाईंले भने “हामी एमबिबिएस तहमा ३०० विद्यार्थी पढाउने क्षमतामा छौँ । एमडीरएमएससमेत पढाउन सक्छौँ ।” कलेजले सम्बन्धन पाउने वित्तिकै एकहजार ५०० स्थानीयबासीले रोजगारी र सरकारले रु ५० करोड भन्दा बार्षिक राजश्व समेत पाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्