विवाह र पूजामा हुने जमघटबाट सङ्क्रमण वृद्धि



स्याङजा । विवाह तथा पूजामा मानिसको जमघटबाट यहाँका दुई बस्तीमा सङ्क्रमण उच्च रहेको छ । वालिङ नगरपालिका–९ को कल्लेरी र वडा नं १ को धरमपानीमा विवाह तथा चौरासी पूजामा सहभागी भएका अधिकांशमा सङ्क्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले जानकारी दिए ।

कल्लेरी गाउँमा आयोजना गरिएको विवाहमा सहभागी भएकामा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि आइतबार गरिएको परीक्षणमा २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । “कल्लेरी गाउँमा स्वास्थ्य समस्या देखिएको खबर पाएसँगै गह्रौँ प्राथमिक अस्पतालका चिकित्सकसहितको टोलीले गाउँमै पुगेर एन्टिजिनमार्फत परीक्षण ग¥यौँ”, शाखा प्रमुख पाण्डेले भने, “परीक्षण गरिएकामध्ये अधिकांशमा कोरोना पुष्टि भयो, उहाँहरुलाई आवश्यक औषधि तथा परामर्शसहित फर्कियौँ ।”

सङ्क्रमणको दर उच्च रहेकाले कल्लेरी गाउँलाई सिल गरी आवतजावतमा कडाइ गरिएको छ । हाल उक्त गाउँमा ४० बढी सङ्क्रमितको सङ्ख्या छ । तीनरचार जनामा केही समस्या देखिए पनि अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको शाखा प्रमुख पाण्डेले बताए ।

त्यस्तै धरमपानीमा यही वैशाख १४ गते गाउँमा आयोजना गरिएको चौरासी पूजामा सहभागी भएकाहरुमा गरिएको परीक्षणमा एउटै गाउँका १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । पूजामा सहभागी भएकामा लक्षण देखिएपछि २५ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको वडा नं १ का वडाध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले बताए ।

बाक्लो बस्ती रहेको गाउँमा चौरासी पूजा गरिएको र त्यहाँ सहभागी भएकाहरुमा एकाएक ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्नेलगायतका समस्या देखिएपछि परीक्षणका क्रममा ठूलो सङ्ख्यामा सङ्क्रमित रहेको पुष्टि भएको हो ।

नगरपालिका तथा गह्रौं प्राथमिक अस्पतालका स्वास्थ्यकर्मीसहितको टोलीले गाउँमै पुगेर एन्टिजिन परीक्षण गरेको थियो । गाउँभरी सङ्क्रमित देखिएपछि तत्कालका लागि उक्त गाउँका नागरिकलाई घरबाट बाहिर ननिस्कन र बाहिरबाट पनि त्यस ठाउँमा आवतजावत गर्न नदिने गरी सिल गरिएको प्रवक्ता काफ्लेले बताए ।

गाउँमै पुगेर आवश्यक औषधि वितरण गरिएको र समस्या परेको खण्डमा जुनसुकै समयमा पनि स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेकाले प्राथमिक अस्पतालको अक्सिजनसहितको आइसोलेशनमा ल्याएर उपचार गरिने शाखा प्रमुख पाण्डेले जानकारी दिए । विवाह, भोज, पूजाआजा तथा अन्य जमघट हुने कार्यहरुमा थोरै भन्दा थोरै जना सहभागी हुन नगरपालिकाले अनुरोध गरेको छ ।

यस्ता कार्यहरु मिलेसम्म नगर्न र गर्नैपर्ने भए स्वास्थ्यसम्बन्धी मापदण्डभित्र रही उच्च सतर्कताका साथ गर्न पनि नगरपालिकाले सूचनामार्फत अनुरोध गरेको छ । जिल्लाका ११ पालिकामध्ये सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या वालिङमा छ । वालिङमा बिहीबार साँझसम्म २२० भन्दा धेरै सङ्क्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्