एन्टिजेनका भरमा दार्चुला, पर्याप्त भएन परीक्षण



–नरेन्द्रसिंह कार्की
दार्चुला । जिल्लामा पिसिआर मेसिन नहुँदा कोरोना जाँचका लागि एन्टिजेन परीक्षणमै निर्भर हुनुपरेको छ । पिसिआर मेसिन नभएपछि एन्टिजेन प्रविधिलाई नै भरपर्दो मानेर शंकास्पद बिरामीको जाँच गरिएको हो । कोभिड–१९ को दोस्रो चरण आउँदासम्म जिल्लामा एन्टिजेन परीक्षण पनि सबै ठाउँमा पर्याप्त हुनसकेको छैन । स्वास्थ्य कार्यालय दार्चुलाबाट निश्चित मात्रामा पठाइएको एन्टिजोन किट्सका माध्यमबाट परीक्षण गरिएको छ ।

अहिले जिल्लाभरि कोरोनासँग मिल्दो लक्षण भएका बिरामी जताततै बढेका छन् । रुघाखोकी, ज्वरो र शरीर दुख्ने समस्याका बिरामी अधिकांश गाउँमा रहे पनि उनीहरूको जाँच हुनसकेको छैन । मार्मा गाउँपालिका–३ मा एक जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । स्वास्थ्यकर्मीमै सङ्क्रमण देखिएपछि जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरिएको छ ।

ज्वरो तथा रुघाखोकीका बिरामीहरू उपचारका लागि स्वस्थ्य संस्थामा आउने गरेका छन् । उपकरण, जनशक्ति र औषधि अभावमा सबै बिरामीको घरमा पुगेर उपचार गर्न सकिने अवस्था नरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । कोरोना महामारीको दोस्रो लहर डरलाग्दो रूपमा फैलिएका बेला भारतबाट यहाँका सयौं स्थानीय रोजगारी छोडेर गाउँ फर्किएका छन् । भारतबाट कति जना गाउँ फर्किए भन्ने यकिन तथ्याङ्क कुनै स्थानीय तहसित पनि छैन ।

भारतबाट फर्किएकाहरू सिधै गाउँघरमा पस्दा कोरोनाको जोखिम झनै बढेको स्थानीय जगतसिंह ठगुन्ना बताउँछन् । “गाउँघरमा उनीहरू निस्फिक्री घुमिरहेका छन्”, उनले भने । यहाँका धेरै मानिसहरू रोजगारी र मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गर्छन् । र पढाइका लागि धनगढी, महेन्द्रनगर, काठमाडौँलगायतका शहर पसेका स्थानीयवासी पछि समस्यामा परिने डरले गाउँ फर्किसकेका छन् । उनीहरूको स्वास्थ्य परीक्षण भएको छैन । केहीलाई ज्वरो आएको जाँच गर्न पनि स्वास्थ्य संस्था नजाने हुँदा गाउँमा कोरोनाको त्रास बढेको छ ।

जिल्लामा पूरै निषेधाज्ञा जारी गरिएको भए पनि परीक्षणको दायरा बढाइएको छैन् । दुहुँ गाउँपालिका हिकिला स्वास्थ्य चौकी प्रमुख प्रेमसिंह धामी हिकिलामा अहिलेसम्म १० जनाको मात्रै एन्टिजेन परीक्षण गरिएको बताउँछन् । जिल्लाबाटै एन्टिजेन थोरै पठाइएको छ । थोरै मात्र पठाइएको हुँदा नमुनाको रुपमा पाँचवटै वडामा परीक्षण गरिएको छ । २५ एन्टिजेन पठाइएकोमामा पाँच जनामा कोरोना सङ्क्रमण देखिएको उनले बताए ।

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाका नौवटै स्थानीय तहमा अहिलेसम्म ५१८ किट एन्टिजेन र भिटिएम ३८५ किट पठाइएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत जयराज भट्टका अनुसार महाकाली नगरपालिकामा ७०, शैल्यशिखरमा १००, मालिकार्जुन गाउँपालिकामा ९०, मार्मा गाउँपालिकामा ३३, अपिहिमाल गाउँपालिकामा ८०, लेकम गाउँपालिकामा ३०, नौगाड गाउँपालिकामा ४०, दुहुँ गाउँपालिकामा २५ र व्यास गाउँपालिकामा ५० थान किट पठाइएको छ ।

जिल्लामा पिसिआर मेसिन नभएपछि एन्टिजेन प्रविधिलाई नै भरपर्दो मानिएको भट्ट बताउँछन् । एन्टिजेनले बिरामीको नाकबाट स्वाब लिएको १५ मिनेटमै रिजल्ट दिने गरेको छ । यसको रिपोर्ट पिसिआरसँग झण्डै ७५ प्रतिशत मिल्ने बताइएको छ ।

स्वास्थ्य सामग्री खरिद गर्न दुई अस्पताललाई रु तीन करोड

कोरोना सङ्क्रमितका बिरामीको उपचारमा सहयोग पु¥याउन दार्चुलाका दुई अस्पताललाई रु तीन करोड २० लाख दिइएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रम, प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयबाट रु ८० लाख दिइएको हो ।

दार्चुलाबाट सङ्घ र प्रदेशका सांसदहरुले बजेट विनियोजन गर्दा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेका थिए । विनियोजित बजेट कोभिड नियन्त्रण, उपकरण खरिद, स्वास्थ्य सामग्री खरिद गर्न सकिने उल्लेख गरिएको थियो । तर कार्यान्वयन तहमा ढिलाई हुँदा कोभिडको सङ्क्रमण जिल्लाभरी फैलिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले सो विनियोजित बजेट अक्सिजन प्लान्ट, आइसोलेन निर्माण, तथा स्वास्थ्य सामग्री खरिदको लागि बाटो खुल्ने गरी निर्णय गरेको छ । सार्वजनिक खरिद ऐनअनुसार इबिडिङ गर्नुपर्ने भए पनि अहिले कोभिडको अवस्था भयावह बन्दै गएको भन्दै छिटो र सहज माध्यमबाट बजेट खर्च गर्ने गरी संकट व्यवस्थापन समितिले निर्णय गरेको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा विजय भुर्तेलले बताए। बजेट विनियोजनको क्रममा सङ्घीय सांसदको १ करोड ३० लाख रुपैयाँ महाकाली नगरपालिकाको जिल्ला अस्पताल र २० लाख रुपैयाँ शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर अस्पतालको लागि विनियोजन गरिएको थियो ।

यस्तै प्रदेशसभा सदस्य गेल्बुसिह बोहराले जिल्ला अस्पताललाई ५० लाख रुपैयाँ र अर्का प्रदेशसभा सदस्य मानबहादुर धामीले गोकुलेश्वर अस्पताललाई ४० लाख रुपैयाँ विनियोजन गर्नुभएको थियो । निर्णय भएको लामो समयसम्म सो बजेट खर्च हुनसकेको थिएन ।

यस्तै हालै सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले अक्सिन प्लान्ट खरिद गर्न रु ८० लाख जिल्ला अस्पताललाई विनियोजन गरेको थियो । सबै रकमलाई स्थानीय तह, स्वस्थ्य कार्यालय र जिल्ला अस्पतालको समन्वयमा खर्च गर्ने गरी बाटो खुला गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

सो बजेटमार्फत सदरमुकाम खलङ्गा र गोकुलेश्वरमा ५०र५० शय्याको आइसोलेशन तयार गरिने बताइएको छ । यस्तै अस्पतालले माग गरेको आधारमा स्वास्थ्य सामग्री खरिदमा बजेट खर्च गर्न सकिने डा।भुर्तेल बताउँछन् ।

हाल जिल्ला अस्पताल दार्चुलामा १३ शय्याको आइसोलेशन निर्माण गरिएको छ । तर अहिले कोभिड सङ्क्रमितका बिरामी बढ्दै गएपछि त्रिपालमा उपचार गराउनुपर्ने अवस्था आएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्