अक्सिजनको चरम अभाव



भारतको राजधानी नयाँ दिल्लीका २५ परिवारले शुक्रबार बिहान उठ्दा सर गंगाराम अस्पतालमा उपचाररत स्वजनको यथेष्ट अक्सिजनको अभावमा मृत्यु भएको खबर पाए। अस्पतालका मेडिकल डाइरेक्टरले २५ जना गम्भीर बिरामीलाई चाहिने अक्सिजन अभाव भएको बताए। दिल्लीका अधिकांश अस्पतालमा अक्सिजन अभाव भइरहेका बेला शुक्रबार उक्त अस्पतालमा दुःखद घटना भएको हो।

उपचाररत थप ६० बिरामीको ज्यान पनि जोखिममा रहेको चेतावनी दिएपछि उक्त अस्पतालमा शुक्रबार बिहान अक्सिजनको ट्यांकर उपलब्ध गराइएको थियो। गंगाराम अस्पतालमा मात्र होइन, कोरोना संक्रमण तीव्र भएपछि भारतका सुगमदेखि दुर्गम स्थानमा पनि अक्सिजन अभाव खट्किएको छ।

भारतका पश्चिमी राज्य गुजरात र महाराष्ट्र, उत्तरी क्षेत्रमा पर्ने हरियाणा, मध्य क्षेत्रमा पर्ने मध्यप्रदेशमा अक्सिजन अभाव देखिएको छ। उत्तर प्रदेशका केही अस्पतालले अक्सिजन समाप्त भएको सूचना टाँसेका छन् भने लखनउका केही अस्पतालले बिरामीलाई अन्यत्र सर्न भनेका छन्। दिल्लीका साना अस्पताल र नर्सिङ होमको हालत पनि त्यस्तै छ। विभिन्न सहरमा बिरामीका नातेदार अक्सिजन रिफिल गर्ने केन्द्रमा लामबद्ध छन्। हैदराबादको एक अक्सिजन प्लान्टमा भीड नियन्त्रण गर्न बाउन्सर परिचालन गर्नुपरेको थियो। अस्पतालमा भर्ना हुन कुरिरहेका कतिपय संक्रमितको मृत्यु भएको छ। अस्पतालले श्वासप्रश्वासमा गम्भीर समस्या भएका बिरामीलाई भर्ना गर्न र जीवित राख्न सकेका छैनन्। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्