माछा मार्न गएका युवकको छ दिनपछि शव फेला



माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ ।

गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

यही चैत २३ गते सोमबार साँझ साथीहरुसँगै घरबाट माछा मार्न भनेर नदीमा गएका प्रजा नफर्किएपछि उनको खोजी हुँदै आएको थियो । प्रजाको शव त्रिशूली नदी किनारमा फेला परेको प्रनाउ दाहालले बताए ।

उनलाई नदीले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता प्रजाको सोही रातिदेखि खोजी भए पनि फेला पर्न सकेका थिएनन् ।

स्थानीयवासीले शहीद लखन थापा गाउँपालिका–४ स्थित भुते बगरको त्रिशूली नदी किनारमा शव तैरिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रजाको शव परीक्षण गरी अन्येष्टिका लागि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्