कृषकलाई चैते धान रोप्न चटारो



चैत महीना शुरु भएसँगै जिल्लाका कृषकलाई चैते धान रोप्न चटारो छ । तनहुँका विभिन्न भागमा यतिबेला कृषक चैते धान रोप्न व्यस्त छन् । व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले आफूले चैते धान रोपिसकेको जानकारी दिए ।

मुख्य पेशा नै कृषि भएकाले वर्षौंदेखि धान रोप्दै आएको उनले बताए । म्याग्दे गाउँपालिकाका कृषक पनि यतिबेला चैते धान रोप्न व्यस्त छन् । वडा नं –३ धयरेका रामबहादुर थापाले चैते शुरु भएसँगै यहाँका कृषक धान रोप्न व्यस्त रहेको बताए ।

किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् । किसानले कृषि उपकरणको अभावमा समस्या खेप्नुपरेको बताएका छन् । म्याग्दे–१ गुणादीका लक्ष्मी रानाले गोरुले जोतेर खेत रोप्दा महङ्गो पर्ने गरेको बताए ।

जिल्लाको १६ हजार हेक्टर क्षेत्रफलमा वर्षे तथा तीन हजार ५०० हेक्टरमा चैते धानखेती हुने गरेको छ । जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायतका क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्