दमौली खानेपानीद्वारा नगर विकासलाई नौ करोड भुक्तान बाँकी



–कृष्ण न्यौपाने
तनहुँ । तनहुँको सदरमुकाम दमौलीमा खानेपानी उपलब्ध गराउँदै आएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नगर विकास कोषलाई रु नौ करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । दोस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत नगर विकास कोषले दमौली खानेपानीलाई ऋण उपलब्ध गराएकामा संस्थाले रु नौ करोड पाँच लाख ३७ हजार २६४ भुक्तानी गर्नुपर्ने देखिएको हो ।

वि।सं २०७० असार २० गतेको सम्झौताअनुसार नगर विकास कोषले संस्थालाई रु १२ करोड दुई लाख ७७ हजार १७४ ऋण दिएकामा रु दुई करोड ९७ लाख ३९ हजार ९०९ भुक्तान भइसकेको छ । साथै संस्थाले हालसम्मको रु एक करोड ९२ लाख ५२ हजार ७८८ ब्याज भुक्तानी गरिसकेको खानेपानी संस्थाका व्यवस्थापक अमर गिरीले जानकारी दिए ।

खानेपानी आयोजना निर्माणका क्रममा नेपाल सरकारको ५० प्रतिशतले हुन आउने रु १२ करोड ६७ लाख ३२ हजार २९६, उपभोक्ता संस्थाको रु १२ करोड ६७ लाख ३२ हजार २९६ लगानी गरिएको थियो । त्यसमध्ये पनि रु १२ करोड दुई लाख ७७ हजार १७४ संस्थाले र रु ६४ लाख ५५ हजार १२२ जनताबाट उठाइएको थियो ।

दमौली खानेपानी संस्थाले व्यास नगरपालिका–२, ३ र ४ मा खानेपानी सुविधा उपलब्ध गराउँदै आएको छ । यी तीनवटा वडामा तीन हजार ४०६ निजी धारा र १२० कार्यालय सङ्घसंस्था गरी तीन हजार ५२६ धारा जडान गरिएको छ । आयोजनाको मुख्य स्रोतहरू गुणादी वाराही मूल खानेपानी मुहानदेखि फिल्टर ट्याङ्कीसम्म ९।२ किमी, मादी नदी सम्वेलबाट बाघ भञ्ज्याङ फिल्टर ट्याङ्कीसम्म ०।९५ किमी, बाघ भञ्ज्याङबाट फिल्टर ट्याङ्कीबाट साँखरसम्म १।१९५ किमी र साँखरबाट शीतल चोक ट्याङ्कीसम्म ०।४४० किमी हुन् । आयोजनाअन्तर्गत दुईवटा इन्टेक, तीनवटा ग्रिट च्याम्वर, पाँचवटा पानीपोखरी, पानी प्रशोधन प्रणाली, २।६३ किमी मुख्य प्रसारण लाइन, ६२ किमी वितरण पाइप सञ्चालनमा रहेको छ ।

मादी नदीबाट पम्पिङ प्रणालीबाट पानी तानेर फिल्टर गरी वितरण गर्ने उद्देश्यसहित विसं २०६९ पुस २० गते चार पक्षबीच सम्झौता भएको थियो । आयोजनाको निर्माण विसं २०७५ असार मसान्तमा सम्पन्न भएको थियो । हाल दमौली बजारमा दैनिक ३१ लाख लिटर पानी आवश्यक पर्ने भए पनि आवश्यकतानुसारको वितरण हुन नसकेको गिरीले बताए । ‘केही हदसम्म खानेपानीको अभाव हटाउन यस आयोजनाले सहयोग गरे पनि पर्याप्त खानेपानी उपलब्ध गराउन सकिएको थिएन, अझै पनि मालपोत लाइन र देउराली नगरमा पानी अभाव यथावत छ”, उनले भने, ‘उक्त क्षेत्रमा सहज रूपमा खानेपानी उपलब्ध गराउन समिति लागिपरेको छ ।’

संस्थाले ० देखि ७ युनिटसम्म न्यूनतम रु १०० महसुल दर निर्धारण गरेको छ । साथै आठदेखि १० युनिटसम्म प्रति युनिट २५, ११ देखि १५ सम्म प्रति युनिट रु ३०, १६ देखि २० सम्म प्रति युनिट ३५, २१ देखि २५ सम्म प्रति युनिट ४०, २६ देखि ३० सम्म प्रति युनिट ४५ र ३१ माथि प्रति युनिट रु ५० कायम गरिएको छ । संस्थाले व्यास नगरपालिका–२, ३ र ४ का सम्पूर्ण क्षेत्रमा खानेपानी सेवा सञ्चालनलाई निरन्तरताका दिनुका साथै गुणादी मुहानलाई व्यवस्थित गर्ने, जनसङ्ख्याको बढ्दो चापलाई मध्यनजर गर्दै बजारमा पर्याप्त खानेपानी उपलब्ध गराउन नयाँ स्रोतको खोजी गर्ने तयारी गरेको छ ।

भूमिहीनको तथ्याङ्क सङ्कलन शुरु

तनहुँको थप चार पालिकामा भूमिहीनको तथ्याङ्क सङ्कलन शुरु भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लाका थप चार स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको तथ्याङ्क सङ्कलन शुरु गरेको हो ।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यसहित दोस्रो चरणमा आँबुखैरेनी गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका लागि आयोगले चैत ९ गते ३५ दिने सूचना प्रकाशित गरेको छ । उक्त अवधिभित्र स्थानीय तहमार्फत घरदैलोमा खटिएका लगत सङ्कलक वा सम्बन्धित वडा कार्यालयमा फारममा उल्लेखित विवरण भरी आवश्यक पर्ने कागजात पेश गर्न सूचना जारी गरिएको आयोगका जिल्ला अध्यक्ष दधिराज सुवेदीले जानकारी दिए ।

आयोगले सूचना जारी गरेसँगै स्थानीय तहले तथ्याङ्क सङ्कलनका लागि लगत सङ्कलनकर्ता परिचालन गरेको छ । आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले लगत सङ्कलनकर्तालाई तालिम दिएर वडामा खटाइएको जानकारी दिए । ‘भूमि आयोगबाट लगत सङ्कलनकर्ता तालिम सम्पन्न भएको छ, गाउँपालिकाका छवटा वडामा आठजना लगत सङ्कलनकर्ता खटाएका छौँ’ पोखरेलले भने ।

म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले गाउँपालिकाका सातवटै वडामा गणक परिचालन गरिएको जानकारी दिए । प्रत्येक वडामा एक÷एक गणकलाई तालिम पश्चात फारम बुझाएर परिचालन गरिएको छ । ‘फारम भर्न सिकाएर सबै गणकलाई वडामा खटाइसक्यौँ, उनले भने ।

घिरिङ गाउँपालिकाले पनि प्रत्येक वडामा लगत सङ्कलनकर्ता परिचालन गरिसकेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले पाँचवटा वडामा एक÷एक सङ्कलन कर्ता परिचालन गरिएको जानकारी दिए । पहिलो चरणमा जिल्लाको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा भूमिहीनको लगत सङ्कलन गरिएको थियो । स्थानीय तहले सङ्कलन गरेको विवरण भूमिसम्बन्धी समस्या समाधान आयोगमा पठाइने र जाँचबुझपछि वास्तविक भूमिहीन भएको प्रमाणित भएमा लालपुर्जा वितरण गरिनेछ ।

जिल्लाको व्यास र शुक्लागण्डकी नगरपालिकाले भूमिहीनको तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गरिसकेको छ भने अन्य स्थानीय तहमा काम भइरहेको बताइएको छ । व्यास नगरपालिकामा छ हजार ८७२ जनाको तथ्याङ्क सङ्कलन भएको छ । शुक्लागण्डकी नगरपालिकाले चार हजार ४४२ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गरेको छ ।

जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना भइसकेको छ । सरकारले आयोगको अध्यक्षमा दधिराज सुवेदी, विज्ञ सदस्यमा दीर्घबहादुर दरै र सदस्यमा शान्ति कुँवरलाई नियुक्त गरेको थियो । आयोगको पदेन सदस्यमा डिभिजन वन कार्यालयका प्रमुख, नापी कार्यालयका प्रमुख, मालपोत कार्यालयका प्रमुख रहने व्यवस्था छ भने आयोगको सदस्यसचिवमा जिल्ला समन्वय अधिकारी रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्