करको दर हैन दायरा बढाउँदै भरतपुर महानगर



भरतपुर महानगरपालिकाले राजस्व संकलनलाइ अभियानको रुपमा अघि बढाएको छ । कोरोना भाइरस पछि सुस्ताएको व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्किएसँगै राजस्व संकलन बढ्दै गएको हो ।

भरतपुर महानगरपालिकाले हालसम्म रु.२५ करोड ५० लाख राजस्व संकलन गरेको छ । असार मसान्तसम्ममा रु.९० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेको छ । जसमा रजिष्टेशन सेवा शुल्कसमेत छ । गत बर्ष यसै हाराहारीमा राजस्व संकलन भएको थियो । महानगरको आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्याल राजस्वको दायरामा आउन नसकेका करदाताका घर घरमा टोली परिचालन गर्न थालिएको बताउँछन् ।

महानगरले निजी क्षेत्रसँग सहकार्य गरेर राजस्व संकलनलाई तीव्रता दिएको छ । अर्यालले भने, हामीले स्थलगतरुपमा कर दाताको नवीकरण र राजस्व संकलनसमेत गर्न थालेका छौँ । महानगरमा करको दायरामा ६० प्रतिशत हाराहारी व्यवसायी आएका छन् । यसलाई ८० प्रतिशतमा पुर्याउने लक्ष्यका साथ अभियान थालिएको छ ।

महानगरपालिकाको राजस्व परामर्श र कंलन समितिका संयोजकसमेत रहेका उपपम्रख पार्वती शाह ठकुरी हिजोआज
हरेक हप्ता राजस्व संकलनको विषयमा नियमित छलफल गरी संकलनमा जोड दिएको बताउँछन् । टोली परिचालनसँगै ठूला करदातालाई पत्राचार गर्ने काम भइरहेको उनको भनाइ छ । उनले भने, यो बर्ष हामीले दर बढाएका छैनौँ दायरा बढाउने काममा लागि परेका छौँ । सबैलाई करको दायरामा आउन अनुरोध गर्दै उनले सबैले कर तिरेमा दर बढाउनु नपर्ने बताए । सरोकारवालाको परामर्शमा दर तय भएकाले राजस्व संकलनमा सहयोग पुर्याउनुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्