अज्ञात रोगका कारण मर्न थाले कुखुरा



हुम्ला गाउँपालिका २ थालीमा अज्ञात रोगका कारण दैनिक १५ देखि २० कुखुरा मर्ने गरेका छन् ।

वितग तीन दिनदेखि अज्ञात रोगका कारण यहाँका दैनिक करिब २० वटा स्थानीय जातका लोक कुखुरा मर्ने गरेको स्थानीय बताउछन् । पाँच दिन अगाडि मात्रै बाजुराको कोल्टीबाट सर्केगाड गाउँपालिका २ उनपानी र रिप गाउँका दुईजना व्यापारीले बिक्रिका लागि १६ वटा कुखुरा ल्याएपछि गाउँका स्थानीय जातका लोकल कुखुरामा रोग फैलिएको बताइएको छ ।

कुखुरामा कुन रोग लागेको हो भन्ने पहचान हुन नसकेको भएपनि स्थानीयवासीले मरेका कुखुरा दैनिकजसो पकाएर खाने गरेका छन् । जिल्ला बाहिरबाट ती कुखुरा नल्याउँदासम्म गाउँका कुखुरामा कुनैपनि रोग नलागेको स्थानीयवासी लामा रावलले बताए । बाहिरबाट ल्याएका कुखुराबाट रोग सरेको हुनसक्ने उनको अनुमान छ ।

बाहिरबाट ल्याएका कुखुरा जोडीको रु.पाँच हजार ५०० दरले गाउँलले किनेपछि यहाँका स्थानीय जातका कुखुरामा रोगको प्रकोप देखापरेको स्थानीयवासी रावलको भनाई छ ।

कुखुरामा कराउने र झोक्राउने जस्ता लक्षण देखिने र केही समयपछि मर्ने गरेको छ । गाउँमा सयौँ कुखुरा मरिसक्दा पनि खार्पुनाथ गाउँपालिका पशुशाखा कार्यालयले यसतर्फ गम्भिर हुन सकेको छैन ।

मरेको कुखुरालाई क्षेत्रीय प्रयोगशालामा पठाएर परीक्षण गरेपछि खाने योग्य भएमात्र खानुपर्ने पशुसेवा तथा भेटेनरी कार्यालय हुम्लाका सूचना अधिकारी कृष्ण रोकायले बताए ।

थाली गाउँमा अज्ञात रोगका कारण कुखुरा मर्ने गरेको जानकारी हालसम्म नआएको खार्पुनाथ गाउँपालिका पशुसेवा प्रमुख नरेन्द्र शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्