वैदेशिक रोजगार छोडेर तरकारी खेती सुरु गरेका युवाले गरे यतिधेरै प्रगति



शुक्लाफाँट नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरीलाई पैसाका लागि अरुको मुख ताक्नुपरेको छैन । पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने हतारो समेत छैन । घरकै बारीमा तरकारी खेती गरेर उनले बार्षिक रुपमा रु.आठ लाख बढी आम्दानी गर्दै आएका छन् । विदेशमा दुख गर्दा समेत गतिलो आम्दानी हात पार्न नसकेका उनले बारीमा तरकारी रोप्न थालेपछि विगतका दुखका दिन बिर्सन थालेका छन् ।

दुई बर्षका लागि वैदेशिक रोजगारी गर्न साउदी अरेविया गएका उनको स्वास्थ्य पनि बिग्रिएपछि पुरा समय काम गर्न नसकेपछि उनी स्वदेश फर्केका हुन् ।“धेरै पैसा कमाउने सपना बोकेर वैदेशिक रोजगारीमा गएको थिएँ”, उनले भने, “अत्यधिक गर्मीका कारण पेट दुख्ने र खुट्टा दुख्नेलगायत स्वास्थ्य समस्याले काम गर्न नपाइ घर फिर्ता भएँ । वैदेशिक रोजगारीमा जाँदा लागेको कर्जा र पछि उपचार गर्न लागेको कर्जा तिर्न निकै समस्या थियो ।”

“गाउँकै साहुबाट कर्जा लिएकाले घरदैलोमै पैसा माग्नका लागि आउने गर्दथे”, विगत सम्झँदै उनले भने, “घर फर्केपछि हाउस पेन्टिङको कार्य गर्न थाले । त्यसबाट केही पैसा जम्मा भयो । ती पैसामध्ये केही कर्जावापतको ब्याज तिर्न भ्याएँ । जम्मा भएको केही रकम तरकारी खेतीका लागि आवश्यक पर्ने बीउबिजन, रसायनिक मल, विषादी खरिद गर्नका लागि राखेँ ।”

शुरुमा थारै जग्गामा तरकारी खेतीका गरेका चौधरीले विस्तारै तरकारी खेती गर्ने जग्गाको क्षेत्रफल बढाउँदै लगे । हाल स्वामित्वको दुई बिघा जग्गामा उनले तरकारी रोपेका छन् । “परम्परागतरूपमा तरकारी रोप्दै आएका थियौँ”, उनले भने, “तालिम लिएपछि तरकारी लगाउने तौरतरिका सिकेपछि आम्दानी मात्रै बढेको छैन । वैदेशिक रोजगारीमा जाँदा लागेको कर्जासमेत तिर्न सकिएको छ ।” उनको हिउँदे तरकारी बालीमा आलु, काउली, ब्रोकाउली, गोलभेँडा, खुर्सानी, बन्दा, हरियो सागपातलगायत रहेको छ ।

बेमौसमी तरकारी बालीका रूपमा उनले काँक्रा, लौका, फर्सी, तितेकरेलालगायत प्लाष्टिक टनेलमा लगाएका छन् । बर्खे तरकारीमा तनेबोडी, तितेकरेलाको खेती उनले गर्दै आएका छन् । विदेशको दुःखले स्वदेशमै आयआर्जनमूलक कार्य गर्नुपर्छ भन्ने सोच राखेर तरकारी खेती गरेको उनी बताउँछन् । “कर्जा तिर्न कुनै उपाय थिएन”, उनले भने, “बारीमै मेहेनत गर्न परिवारले सघाए, त्यसपछि आम्दानी बढ्दै गएको छ । मेहेनत गरेपछि जे पनि सम्भव हुँदोरहेछ ।”

प्रतिक्रिया दिनुहोस्