लामो समयपछि फेरि खोलिएको मनकामना मन्दिरमा दर्शनार्थी बढ्दै



गोरखास्थित मनकामना मन्दिर प्रसिद्ध धार्मिकस्थल हो । अहिले मनकामना मन्दिरमा दर्शक गर्न आउने दर्शनार्थीको संख्या बढ्दै गएको छ । कोरोनाको महामारीको कारण बिगत ९ महिनादेखि मन्द रहेको मन्दिर गत मंसिर २८ गतेदेखि फेरि खोलिएसँगै अहिले मन्दिरमा दर्शन गर्न आउने संख्या ह्वात्तै बढेको छ ।

हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए । उनका अनुसार शनिबार एकै दिन पाँच हजारभन्दा बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई मन्दिर दर्शनका लागि खुला गरिएको पुजारी थापाले बताए ।

यसैबीच शनिबार मात्र चार हजारभन्दा बढी दर्शनार्थी मनकामना केबलकार चढेर मनकामना दर्शन गर्न पुगेका छन् । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एकै दिन चार हजार ५०० ले केबलकार चढेको बताए । उनका अनुसार कोरोना महामारीका कारण बन्द भएपछि सञ्चालनमा आएको केबलकार चार हजार ५०० जनाले चढेको पहिलोपटक हो । कोरोना महामारीअघि सार्वजनिक बिदा र शनिबारका दिन चार हजार ५०० भन्दा बढी दर्शनार्थी केबलकार चढेर मनकामना मन्दिर पुग्ने गर्दथे । सुरक्षा मापदण्डको पूर्ण पालन गर्दै केबलकार सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्