चिसोका कारण कष्टकर बन्दै महोत्तरीका बासिन्दाको जनजीवन



महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको छ । पछिल्लो एक सातायता घाम नदेखिएर लगलगी मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको हो ।

गत पुस २७ गतेयता महोत्तरीमा घाम देखिएको छैन । जताततै हुस्सुले डम्म ढाकेको छ । बेगले बहने चिसो स्याँठ र लगातारजसो परिरहेको तुषारोले जाडो बढाएपछि कतै काममा निस्कन नसकेर कैदीजस्तै बनिएको यहाँका बासिन्दा बताउँछन् ।

लगातार चिसो बढ्दै जाँदा दूध दिने गाई, भैँसी सुक्दै गएका छन् । अन्य पशु वस्तु पनि समुचित स्याहार नपाउँदा जिङ्राएका पशुपालक किसानको चिन्ता छ । “न हरियोपरियो घाँस खोज्न जान सकिएको छ, न वस्तु चरनमा लान सकिन्छ”, जिल्लाकै भङ्गाहा नगरपालिका–४ रामनगरका बासिन्दा किसान हीरादेवी दाहाल भन्छन्, “यी वस्तुको बिजोग हेर्दा मन थाम्न सकिन्न ।” आफ्ना गोठका सात भैँसी, एक गाई र स–साना पाडापाडी बाच्छाबाच्छीले सात दिनदेखि पराल र पुरानो गहुँको भुसबाहेक खानेकुरा अरु देख्न नपाएको दाहाल बिरक्तिँदै बताउँछन् ।

लगातार मौसम चिसिँदै जाँदा बजारु चहलपहल स्वात्तै घटेको छ । किसानले फसल बजार पुर्याउन नसकेपछि बजारका स्थायी व्यापारीको भाउमा मनोमानी बढेको छ । मौसम जति बिग्रे पनि भान्सामा नभई नहुने वस्तु लिन जाँदा ल्याउनै पर्ने भएपछि आफुहरु मूल्यको मारमा परेको बजारु उपभोक्ता बताउँछन् ।

यसैगरी घरपालुवा पशुवस्तुलाई पनि घरकै ढुटोपिठो पानीमा मिसाएर तताएर दिने, आङमा बोराचट्टी ओढाएर न्यानो गोठमा राख्ने, गोठ निरन्तर सफा राख्ने र घरवरपरकै पराल, भुसमा दाना मिसाएर ख्वाउने गरे चिसोबाट हुने पशु क्षति घटाउन सकिने जिल्लाका पशु चिकित्सक र पशु स्वास्थ्यकर्मीको सल्लाह छ ।

प्रतिक्रिया दिनुहोस्