लमजुङमा विभिन्न मुद्दाका २४ प्रतिवादी फरार



लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा तीन आर्थिक वर्षमा २४ जना प्रतिवादी फरार भएका छन् । आर्थिक वर्ष २०७५र२०७६ को साउनदेखि यस चालू आर्थिक वर्षको पुस २३ गतेसम्म बेँसीशहर नगरपालिका वडा नं ८ मा रहेको जिल्ला अदालत लमजुङले विभिन्न मुद्दामा कैद तथा जरिवाना सुनाई गरेका यतिका सङ्ख्यामा फरार रहेको अदालतका श्रेस्तेदार उदयराज काफ्लेले बताए ।

उनका अनुसार लागुऔषध, नकबजनी चोरी, जबर्जस्ती करणी, बालविवाह, अवैधरुपमा काठ ओसारपसारलगायत मुद्दाका २४ पुरुष प्रतिवादी फरार छन् । अदालतका अनुसार यस चालू आवको साउनदेखि पुस २३ गतेसम्म चार पुरुष प्रतिवादी फरार रहेका छन् । जबर्जस्ती करणी, बालविवाह, अवैधरुपमा काठ ओसारपसारलगायत मुद्दाका प्रतिवादी फरार रहेको अदालतले जनाएको छ ।

अदालतका अनुसार गत आव २०७६–२०७७ को एक वर्षको अवधिमा नौ जना विभिन्न मुद्दाका प्रतिवादी पुरुष फरार रहेका थिए । लागुऔषध, नकबजनी चोरी, जबर्जस्ती करणी, बालविवाह, अवैध रुपमा काठ ओसारपसारलगायत मुद्दाका नौ जना पुरुष प्रतिवादी फरार रहेको अदालतका श्रेस्तेदार काफ्लेले बताए।

त्यस्तै अघिल्लो आव २०७५–२०७६ मा विभिन्न मुद्दाका ११ जना प्रतिवादी फरार रहेका थिए । फरार रहेकामध्ये कर्तव्य ज्यान, बालविवाह, लागुऔषध, नकबजनी चोरी, अवैधरुपमा काठ ओसारपसार, जबर्जस्ती करणीलगायत मुद्दाका प्रतिवादी फरार रहेको अदालतले जनाएको छ । फरार प्रतिवादी प्रहरीले पक्राउ गर्न सक्रिय देखाउँदै आए पनि सबै प्रतिवादी पक्राउ गर्न भने नसकेको अदालतका श्रेस्तेदार काफ्लेको भनाइ छ ।

उनले भने, “ढिलो चाँडो सबै फरार रहेको विभिन्न मुद्दाका प्रतिवादी प्रहरीले पक्राउ गर्ने छन् । केही फरार प्रतिवादी प्रहरीले पक्राउसमेत गर्दै आइरहेको छ । यस आर्थिक वर्ष २०७७–२०७८ मा ३८ जना फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा अधिकतम नौ वर्ष छ महिना २१ दिन कैदी भुक्तानी गर्नुपर्नेदेखि २० रुपैयाँ जरिवाना तिर्नुपर्नेसमेत रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनका अनुसार गत आवमा १४ जना फरार प्रतिवादी पक्राउ गरेको थियो ।

गत आवमा ४० हजारदेखि १८ दिन कैदी भुक्तानी गर्न बाँकी रहेका प्रतिवादी पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक पुनले भने, “प्रहरी प्रशासन निकाय फरार प्रतिवादी पक्राउ गर्नका लागि परिरहेका छौँ । यसमा हामीले मात्र नभई स्थानीयको निकाय, जनप्रतिनिधि, स्थानीयको समन्वयमा र प्रविधि प्रयोग गर्दै प्रतिवादी पक्राउ गर्न सफल भइरहेकाले आगामी दिनमा पनि पक्राउ गर्नसक्ने उनको भनाइ छ ।

जिल्ला अदालतबाट कैद तथा जरिवानाको फैसला गरिसकेपछि विभिन्न देशमा रोजगारका लागि गइसकेकाले प्रतिवादी पक्रउ गर्न समय लागिरहेको प्रहरीको भनाइ छ । उनीहरु विदेशबाट स्वदेश फर्किएपछि पनि कानूनको दायरामा भने ल्याइरहेको प्रहरी निरीक्षण पुनले बताए । उनले भने, “हामीले फरार रहेको प्रतिवादी ३०र३१ वर्षपछिसमेत पक्राउ गरेका छौँ ।” यसरी ढिलै भए पनि फरार व्यक्तिलाई कानूनी दायरामा ल्याउँदा पीडितलेसमेत केही राहतको महसुस गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्