सभामुखको पहलमा सिन्धुपाल्चोकका विपद् प्रभावितलाई राहत सामग्री



सभामुख अग्निप्रसाद सापकोटाका विशेष पहलमा सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावित चार स्थानीय तहलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । चीन सरकार, तिब्बत स्वशासित क्षेत्र अन्तरगतको नेलम काउन्टीले प्रदान गरेको राहत सामग्री उनले शुक्रबार लार्चास्थित सुख्खा बन्दरगाहामा आयोजित कार्यक्रममा भोटेकोशी, जुगल, बाह्रविसे र चौतारा स्थानीयतहका प्रमुख तथा प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा सभामुख सापकोटाले प्राप्त सबै सामग्रीको सही तरिकाले वितरण गर्न स्थानीय तहलाई आग्रह गरे । सामग्रीमा २४० सुतिको पाल, तीन–तीन सय ब्ल्याङ्केट उच्च क्षमताका टर्च लाइट रहेका छन् । यस वर्षको बाढी पहिरोका कारण स्थानीय तहले व्यहोरेको क्षतिलाई आधार मानेर सामग्री हस्तान्तरण गरिएका हुन् ।

बाढी पहिरोबाट सबैभन्दा धेरै क्षति भएको बाह्रविसे नगरपालिकालाई ८० पाल, ९५ ब्ल्याङ्केट, ९५ टर्च लाइट, जुगल गाउँपालिकालाई ७० पाल, ८० ब्ल्याङ्केट र ८० टर्च लाइट, भोटेकोशी गाउँपालिकालाई ५५ पाल, ७० ब्ल्याङ्केट र ७० टर्च लाइट ,चौतारा साँगाचोकगढी नगरपालिकालाई ३५ पाल, ५५ ब्ल्याङ्केट र ५५ थान टर्च लाइट शुक्रबार प्रदान गरिएको छ ।

नेकपा केन्द्रीय सदस्य माधव सापकोटाले विपद् संकटग्रस्त घोषणापछिका कार्यक्रम लागू गर्न माग गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जिल्लामा जोखिमयुक्त बस्तीको सङ्ख्या ३५० भन्दा धेरै रहेको अध्ययनले देखाएको बताए ।

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख आमानसिं तामाङले सभामुखले जिल्लाका विपदग्रस्त क्षेत्रका लागि आमाको जस्तै भूमिका निर्वाह गरेको अनुभूति भएको सुनाए भने भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले राहत सामग्रीको पहल र हस्तान्तरणका लागि सभामुखप्रति आभार प्रकट गरे ।

यस वर्षको वर्षात्मा जिल्लाको क्षेत्र नं १ मा पर्ने बाह्रविसे नगरपालिकाको जम्बु र खागदलमा, भोटेकोशी गाउँपालिकाको फुल्पिङ्गलगायतका विभिन्न स्थान, जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिराका कारण ठूलो मानवीय र भौतिक क्षति भएको थियो । यसपछि सभामुख सापकोटाले सहयोगका लागि आह्वान गर्नुभएको थियो । सोही आह्वानपछि चीन सरकारको नेलम काउन्टीले राहत सामग्री उपलब्ध गराएको हो ।

सबै सामग्रीको स्थानीय तहको आग्रहमा भन्सार विभागले कर तथा महसुल छुुट गरेको सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिए । उनका अनुसार चीनले आठ लाख ५८ हजार युआन बराबरको राहत सामग्री प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्