सङ्घीय सरकारको सहयोगमा ट्रमा सेन्टर र सरुवारोग अस्पताल निर्माण हुने



मुख्यमन्त्री लालबाबु राउतले सरुवारोग तथा महामारी नियन्त्रण अस्पताल र ट्रमा सेन्टर निर्माण हुने स्थलको आज निरीक्षण गरेका छन् ।

बाराको कलैया उपमहानगरपालिका–१६ झिटकैयामा ५० शय्याको सरुवारोग तथा महामारी नियन्त्रण अस्पताल र बाराकै पथलैयास्थित प्रादेशिक स्वास्थ्य तालीम केन्द्रमा ट्रमा सेन्टर निर्माण गर्ने नीतिअनुरुप सो स्थलको निरीक्षण कार्य गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ ।

सरुवारोग अस्पतालका लागि कलैया उपमहानगरले सात विघा जग्गा प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ भने पथलैयास्थित स्वास्थ्य तालीम केन्द्र प्रदेश सरकारकै मातहतमा रहेको छ ।

सो अवसरमा मुख्यमन्त्री राउतले प्रदेश सरकार सरुवारोग तथा ट्रमा सेन्टरको निर्माण कार्यलाई आफ्नो नीति तथा कार्यक्रममै राखेर बजेटसमेत विनियोजन गरिसकेको बताए । उनले सङ्घीय सरकारले समेत सहयोग गर्ने भएपछि दुवै अस्पतालको निर्माण कार्य चाँडै शुरु हुने जानकारी गराए ।

उनले यी दुवै अस्पताल प्रदेशको गौरवको योजनाको रुपमा रहने र यसले यस क्षेत्रका बासिन्दामात्र नभई प्रदेशनै लाभान्वित हुने विश्वास प्रकट गरे । सो निरीक्षण टोलीमा मुख्यमन्त्री राउतका साथै सांसदद्वय रामसहायप्रसाद यादव र रामबाबु यादव, प्रदेशसभा सदस्यहरु पारस साह, बच्चा यादव, ज्वाला साह, सुन्दर विश्वकर्मा र सामाजिक विकास मन्त्रालयका सचिवलगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्