डोटीमा भिरबाट लडेर महिलाको मृत्यु



डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ पाँकरीस्थित नाउटेपानी खोलाको भिरबाट लडेर २८ वर्षीया एक महिलाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शुक्रबार दिउँसो घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला सोही गाउँकी २८ वर्षीया शारदा कठायत भण्डारीको भिरबाट लडेर मृत्यु भएको हो ।

शुक्रबार बाख्रा घर आए पनि बाख्रा चराउन गएकी शारदा राति अबेरसम्म घरमा नआउँदा स्थानीयवासीले खोजी गरेपछि गाउँ नजिकैको नाउटेपानी खोलाको भिरबाट लडेर मृतावस्थामा भेटिएको वडाध्यक्ष कर्णबहादुर विष्टले जानकारी दिए । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

हत्या आरोपी पक्राउ

अछामको ढकारी गाउँपालिका–७ का १५ वर्षीय देवेन्द्र थापाको हत्या गरेको आरोप लागेका दुई फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा ढकारी गाउँपालिका–७ का नरेन्द्र बुढा र नरबहादुर बुढा रहेका छन् ।

पक्राउ परेकाहरुले यही कात्तिक १० राति ढकारी गाउँपालिका–३ स्थित चोइटेखालीबाट घर फर्किने क्रममा १५ वर्षीय देवेन्द्र थापा र सोही ठाउँका १४ वर्षीय रुद्र थापालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोप लागेको छ ।

घाइते देवेन्द्रको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा कात्तिक ११ बिहान मृत्यु भएको थियो भने अर्का घाइते रुद्रको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरी कानूनी कारवाही शुरु गरी जिल्ला अदालत पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्