दुई हप्तादेखि परिवारको सम्पर्कबाहिर थिए, जंगलमा आज भेटियो शव



काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो ।

दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्कबाहिर रहेको र आज बिहान जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

‘दुवै जना २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिन आएको छ’ प्रवक्ता थापाले भने, ‘घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा पनि भेटिएको छ ।’

घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्