कोभिड अस्थायी अस्पताल उद्घाटन



कञ्चनरूप नगरपालिकामा निर्मित कोभिड अस्थायी अस्पतालको आज उद्घाटन गरिएको छ । कञ्चनरूप–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापित कोभिड–१९ अस्पताल सङ्घीय सरकारको रु १० लाखको सहयोग र बाँकी नगरपालिकाले सहयोग गरी पाँच श्याको बनाइएको हो । अस्पतालमा एक चिकित्सक, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी रहने नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक डम्बरप्रसाद गुप्ताले जानकारी दिए ।

नगर प्रमुख वसन्तकुमार मिश्रले अस्पताल उद्घाटन गर्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको बताउँदै केही दिनभित्रै प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक सेवा र सर्पदंशको उपचार सेवासमेत शुरु गर्न लागिएको जानकारी दिए । नगरपालिका उपप्रमुख नीरु पोखरेलले सबैको सहयोगमा नगरपालिकाले कोभिड संक्रमण रोकथाम गर्न क्वारेन्टिन, आइसोलेसन केन्द्र हुँदै कोभिड अस्पताल स्थापना गर्न सफल भएको बताउँदै कुनै बिरामीलाई औषधोपचार गर्न बाहिर जानु नपर्ने किसिमले नगरपालिकाले काम गरिरहेको बताए ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले कोभिड– १९ को संक्रमण रोकथामका लागि नगरपालिकाले शुरुदेखि नै सचेत भएर काम गरेकोे बताउँदै रोगप्रति लापर्बाही नगर्न सबैमा आग्रह गरे । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले स्वास्थ्यकर्मीले आफ्नो मनोबल बढाएर गुणस्तरीय सेवा दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्