कार्यालय भएकै स्थानमा टीका, शक्तिपीठमा सुनसान



स्याङ्जाको वालिङ नगरपालिका–१२ का डोलराज पराजुलीले यसवर्ष पहिलोपटक घर बाहिर दशैको टीका लगाए। विश्वव्यापी कोरोना महामारीका कारण पराजुली जन्मघरमा जान नपाएका हुन्।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका अधिकृत पराजुलीले भने, “विगतका दशैँमा गाउँघरमै पुगेर टीका लगाउने गरेको थिएँ, यो वर्ष कोरोना सङ्मण बढ्दै गएकोले आवतजावतमा समेत समस्या हुने र सरकारले समेत जो जहाँ बसेको छ त्यही ठाउँमा चाडबाड मनाउन भनेकोले कर्मथलो पोखरामै दशैँ मनाइयो ।”

कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण धेरैको यसपालिको दशैँ आफ्नो घरमा सीमित बन्न पुग्यो । रोजगारी र व्यावसायका क्रममा विदेशमा रहेकाहरुले उतैबाट दशैँ मनाए भने स्वदेशका शक्तिपीठहरुमा भीडभाड र बलि दिने कार्यक्रम भएनन् ।

वालिङ नगरपालिका १२ मा रहेको लोकप्रित अकलादेवीको मन्दिरमा दर्शनमा रोक लगाइएपनि यहाँ भारत गोरखपुरबाट समेत आउने दर्शनार्थी यसपल्ट देखिएनन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भवीराज गुरुङले स्वास्थ्य जोखिमका कारण भीडभाडमा रोक लगाइएको बताए । मन्दिरका पुजारी गम्मरसिङ गुरुङले सो मन्दिरमा भक्तजनले भाकल गर्ने र मनोकाङ्क्षा पूरा भएपनि बलि र भेटी लिएर आउने गरेको बताए ।
सो मन्दिरमा बाख्राको पाठी र कुखुराको पोथीको मात्रै बलि चढाइन्छ । शाकाहारीले भने दूध चढाउने गर्दछन् ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले आलमदेवी मन्दिरमा पनि कोरोना जोखिम भएकाले पूजापाठमा पनि रोक लगाइएको जनाए ।

प्रतिक्रिया दिनुहोस्