बत्ती बलेपछि स्थानीयवासीमा खुसियाली, दशैँमा गाउँ उज्यालो



तनहुँको घिरिङ गाउँपालिका–१ स्थित विभिन्न टोलमा बिजुली विस्तार भएको छ । उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत उक्त वडाको भन्टार, कटहरे, हात्तीडाँडा, डिसडाँडा र रिमिडाँडाका १३८ घरधुरीमा शनिबार पहिलो पटक बत्ती बलेको हो ।

नेपालीहरुको महान् पर्व बडादशैँको आठौँ दिन महाअष्टमीमा बत्ती बलेपछि यहाँका स्थानीयवासी हर्षित भएका छन् । बत्ती बाल्ने वर्षाैँदेखिको चाहना अहिले आएर पूरा भएको स्थानीय पार्वती शाहीले बताइन् । “बिजुली बत्तीको आशमा बसेको थुपै्र वर्ष भयो, बत्ती बाल्ने चाहना बल्ल पूरा भएको छ”, शाहीले भने, “त्यहीमाथि दशैँको बेला बत्ती बलेपछि गाउँ नै उज्यालो भयो ।”

स्थानीय मनिषा श्रेष्ठले मैनबत्ती र सोलारको भरमा बस्दै आएका स्थानीयवासीलाई बिजुली विस्तार भएपछि सहज हुने बताइन् ।

सोही वडाको नयाँटार, गड्यौलीटार, बन्टार, जगौली र खुङ्लिङमा पनि दशैँअगावै बत्ती बाल्ने तयारी भए पनि विद्युत् प्राधिकरणका कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि ढिलाइ भएको घिरिङ गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्