लकडाउन खुकुलो भएसँगै चलचित्र छायांकन धमाधम



काठमाडौं । चलचित्र प्रदर्शनका लागि सिनेमा हल कहिलेबाट खुल्ने भन्ने टुंगो छैन । महामारीको रूप लिँदै गरेको कोरोना भाइरस (कोभिड–१९) बाट अहिले नेपाली चलचित्र उद्योग पूर्ण प्रभावित छ ।

तर, गत साताबाट लकडाउन खुकुलो भएसँगै चलचित्रकर्मीहरू यतिबेला चलचित्रको निर्माण तयारीमा जुट्न थालेका छन् । केही चलचित्रले मुहूर्तसँगै छायांकनसमेत सुरु गरिसकेका छन् भने केही चलचित्रको दसैंपछिबाट छायांकनको तयारी हुँदै छ । केही चलचित्र भने यतिबेलै छायांकनमा उत्रिएका छन् । यसै क्रममा गत महिनाबाटै निर्देशक शोभित बस्नेतले आफ्नो नयाँ चलचित्र लक्ष्मीपूजाको छायांकन सुरु गरेका छन् ।

थानकोटस्थित आफ्नो स्टुडियोमा केही प्रतिशत र बाँकी छायांकन काठमाडौंकै विभिन्न स्थानमा गरिरहेको निर्देशक शोभित बस्नेतले बताएका छन् । यसपटक दसैंबाटै सिनेमा हल खुल्ने सम्भावना भएकाले सोही मितिमा रिलिज गर्ने लक्ष्यसहित चलचित्र लक्ष्मीपूजाको छायांकन गरिरहेको शोभितको कथन छ ।

सामाजिक दूरी कायमसहित भइरहेको छायांकन अहिले अन्तिम अवस्थामा पुगेको पनि उनले बताए । जसमा सलोन बस्नेत, रियासा दाहाल, जयकिसन बस्नेतसहितको मुख्य भूमिका रहेको छ ।
यसैबीच अर्को चलचित्र गोबर गणेशको पनि अहिले काठमाडौंमा छायांकन भइरहेको छ । जयकिसन बस्नेतकै मुख्य भूमिका रहेको यो चलचित्रको पनि छायांकन अन्तिम तयारीमा पुगेको छ ।

आफूहरूले यो चलचित्र पनि सामाजिक दूरी कायम गर्दै छायांकन गरेको निर्माण पक्षको कथन छ । यता निर्देशक मिलन आले मगरले कोरोना संक्रमणलाई समेत चुनौती दिँदै यसै साता काठमाडौंमा चलचित्र हिँड्दा हिँड्दैको शुभ साइत सम्पन्न गरे । यो चलचित्रको यसै साताबाट काठमाडौंदेखि नै छायांकन सुरु हुने भएको छ ।

आफूहरू कोरोना संक्रमण हुनबाट सावधानी अपनाउँदै चलचित्रको छायांकनमा उत्रन लगेको निर्देशक मिलनले बताएका छन् । यो चलचित्रमा अभिनेता आकाश श्रेष्ठ, सलोन बस्नेत, नवोदिन अभिनेत्री रेखा शाहलगायतका विभिन्न कलाकार रहेका छन् । चलचित्रको आधाजसो छायांकन काठमाडौंमा सकेपछि निर्माण टिम तराईतर्फ लाग्नेछ । तराईमा छायांकन स्थल पक्का भएपछि आफूहरू चलचित्रको बाँकी छायांकनका लागि तराई जाने निर्देशक मिलनले जानकारी गराएका छन् । उनको अनुसार यो चलचित्र सामाजिक प्रेमकथामा निर्माण हुँदै छ ।

निर्देशक आकाश अधिकारीले पनि अब आफ्नो नयाँ चलचित्रको छायांकन दसैंपछिबाट सुरु गर्ने भएका छन् । नयाँ चलचित्रमा उनले कलाकारलाई अनुबन्धित गरेर अभिनय कार्यशाला पनि सुरु गर्न लागेका छन् । यसै साता आफ्नो चलचित्रको नाम चलचित्र विकास बोर्डमा दर्ता गरेर निर्माण घोषणा गर्ने बताएका छन् । (राजधानी दैनिक)

प्रतिक्रिया दिनुहोस्