काँग्रेस नेता गुरुङको अन्त्येष्टि



आइतबार दिवङ्गत हुनुभएका नेपाली काँग्रेस कास्कीका नेता भोजबहादुर गुरुङ ‘सिकन्दर’ को आज अन्त्येष्टि गरिएको छ ।

पोखरा रामघाटस्थित बौद्व अर्घौ सदनमा बौद्व परम्परा अनुसार उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि अघि पोखरा महानगरपालिका वडा नं ५ पस्र्याङस्थित गुरुङ निवासमा पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत, पूर्वमहामन्त्री तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, जिल्ला सभापति कृष्ण केसी र पूर्वमन्त्री यज्ञबहादुर थापाले पार्टीको चार तारे झण्डा ओढाएर गुरुङप्रति श्रद्वाञ्जलि व्यक्त गरेका थिए ।

केही समय अघिदेखि बिरामी गुरुङको उपचारका क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा ५८ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको हो । उनका श्रीमती र दुई छोरा छन् । विसं २०१९ असार २९ गते कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरे देउरालीमा जन्मनुभएका गुरुङ हाल पोखरा महानगरपालिका वडा नं ५ पस्र्याङमा बस्दै आएका थिए ।

गुरुङ पार्टीभित्र इमान्दार, निष्ठावान, सरल र त्यागी नेताका रुपमा परिचित हुनुहुन्थ्यो । लोकतन्त्र प्राप्तीका हरेक सङ्घर्षमा अग्रमोर्चामा रहेर भूमिका निर्वाह गर्नुभएका गुरुङ निडर र स्पष्ट वक्ता थिए ।

बिना स्वार्थ पार्टीको सशक्तिकरण र कार्यकर्ताको समस्याबारेमा खुलेर बोल्न सक्ने नेताकोे छवि बनाउनुभएका गुरुङ पछिल्लो पटक कास्की क्षेत्र नं ३(ख)बाट प्रदेशसभामा उम्मेदवार बन्नुभएको थियो । यसैबीच नेपाली काँग्रेस कास्कीले आज शोक विज्ञप्ति प्रकाशित गरी गुरुङको निधनले पार्टी स्तब्ध भएको जनाएको छ ।

जिल्ला सभापति कृष्ण केसीले जारी गर्नुभएको विज्ञप्तिमा नेपाल विद्यार्थी संघमा क्रियाशिल रहँदादेखि नै जुझारु क्रान्तिकारी स्वभावका गुरुङ निष्ठावान, इमान्दार, त्यागी, निडर र निस्वार्थी स्वभावको भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्