बर्षाको अनुरोध– ‘स्वास्थ्यकर्मीलाई सम्मान र संक्रमितको ख्याल गरौँ’



नायिका बर्षा सिवाकोटीले नेपालमा कोरोना संक्रमित दिनदिनै बढ्दै गएकाले सबैलाई सुरक्षित रहन आग्रह गरेकी छिन् । साथै उनले संक्रमितको स्याहारसुसारमा केही क्षेत्रमा खासै ध्यान नदिएकाले यस्तो अवस्थामा संक्रमितलाई बढी भन्दा बढी केयर गर्न अनुरोध गरेकी छिन् ।

साथै उनले आफ्नो ख्याल नै नराखी दिनरात खाईनखाई बिरामीको सेवा गर्ने डाक्टर, नर्सलाई हामीले सम्मान गर्नुपर्ने बताएकी छिन् । उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै यी कुराहरु बताएकी हुन् ।

उनले सबै मिलेर अघि बढेमा यस रोगलाई जित्न सकिने विश्वास राखेकी छिन् । बर्षाले संक्रमितलाई घृणा होइन सबैले मायाको नजरले हेर्न आवश्यक रहेको पनि बताएकी छिन् ।

बर्षाको स्टाटस जस्ताको तस्तै–

“ सानो अनुरोध​ “ ??
संसारभर फैलिएको कोरोना कहरबाट आज सारा विश्व ग्रसित छ​। यो महामारी नेपालमा पनि १-२ को संख्याबाट​आज सयौँ र हजारौँको संख्यामा दिनानुदिन बढिरहेको छ​। क्वारेन्टिन​, आईसोलेसन​, हस्पिटलका वार्डहरुमा संक्रमितहरु थपिँदै ग​एका छन्। यस समयमा आफू र आफ्नालाई सुरक्षित राख्नु पर्ने त छँदैछ​। साथै, स्वास्थ्य सेवा प्रदान गर्न खटिनु हुने सम्पूर्ण डाक्टर​, नर्स, मेडिकल क्षेत्रका सबै र यस्तै सेवा र हामीलाई सुरक्षित राख्न तत्पर सबैको कार्यको सही मूल्यांकन गर्न पनि उत्तिकै जरुरी छ​। यस्तो जटिल परिस्थितीमा एक- अर्काका लागि सहयोग, माया र सद्भाव राख्नु अत्यन्त आवश्यक छ​। केही घटनाहरुमा संक्रमितलाई अपहेलित गरिएको, कतिमा त अझ संक्रमितको स्याहारमा लाग्नुहुने डाक्टर​, नर्सहरुमा पनि संक्रमण देखिएपछि उहाँहरुलाई नै टोलछिमेकका सबै मिलेर दुर्व्यवहार गर्ने प्रवृति पक्कै पनि अशोभनीय छ​। त्यसैले, हालको यस जटिल परिस्थितीमा हाम्रा लागि दिनरात नभनी खटिनु हुने Front Line Workers लाई सम्मान गर्ने गरौँ। आफ्नो समुदायमा कोही संक्रमित हुनुहुन्छ भने उहाँहरुको विशेष ख्याल राख्ने गरौँ। मानवताकै नाताले नै किन नहोस्, अहिलेको अवस्थामा एक​- अर्कालाई साथ दिऔँ र सहयोग गरौँ।
धन्यवाद ??

प्रतिक्रिया दिनुहोस्